सर्लाहीको इश्वरपुरबाट इश्वरपुर नगरपालिका वडा न-४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुलाई लुट्ने दुईजना डाँकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न-५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् ।उनीहरूलाई गत बैशाख २६ गते इश्वरपुर न.पा वडा न-४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुबाट नगद रु.३७ हजार, विभिन्न कम्पनीको मोबाइल सेट -५ थान र सुनको हनुमानी(लकेट)- १ थान लगायतका सामानहरु लुटेको आरोपमा बिहिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको साथबाट एक थान नलकटुवा बन्दुक,त्यसमा लाग्ने गोली दुई राउन्ड,सुनको हनुमानी-१ थान ,मोबाइल सेट २ थान , BR 30 U 7773 नम्बरको भारतीय मोटरसाइकल र टल्कने ज्याकेट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गराई हिरासतमा लिएर थप अनुसंधान सुरु गरिसकेको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।


