जनकपुरधाम उपमहनगरपालिका–१० बस्ने २७ वर्षीय अमोद कर्णलाई केहि दिन देखि रुघाखोकी र ज्वरो आईरहेको थियो । घरमै ज्वरोको समान्य औषधी खाएर बसिरहेका थिए । तर सोमवार एक्कासी घरमै लडेपछि उनको स्वास्थ्य झन बिग्रियो । तत्काल नै उनलाई उपचारको लागि अस्पताल ल्याउनुपर्ने अवस्था आयो । उनका दाई आफ्ना नजिकका साथीलाई फोन सम्पर्क गरे । एम्बुलेन्स व्यवस्थापन गरेर तुरुन्त अमोदलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरायो । अस्पतालमा भर्ना गरिए लगतै चिकित्सकले अमोदलाई मृत घोषणा गरियो । अमोदको पिसिआर टेस्ट नगरिएपनि उनमा कोरोनाको लक्षणहरु देखिएको घरपरिवारका साथै अस्पतालकै चिकित्सकहरु तनावमा परे । अमोदको कोरोनाकै कारण मृत्यु भएको आशंकामा उनको शवलाई कसैले हात लगाउन चाहेनन् र त्यतिकै बेडमा रहेको थियो । शवलाई लिएर जान अस्पतालले परिवारजनलाई दवाव दियो । यता, अमोदको एक जना दाई मात्रै भएको र छरमिछेकी समेत शव व्यवस्थापनको लागि तयार भईरहेका थिएन । जवान छोराको शव अस्पतालमा बेडमा देखेर परिवारजन थप पीडा र तनावमा थिए । बुबाको जनकपुरमा राम्रो पहिचान भएरपनि छोराको शव व्यवस्थापन गर्न हम्मेहम्मे थियो ।
स्थानीय विरेन्द्र कर्णले भने,‘शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी, एसपी तथा चिनजानका कति नेतालाई फोन गरे । तर कसैले शव व्यवस्थापनमा चासो देखाएनन् । मृतकको पिसिआर टेस्ट नभएको र उनी कोभिड पोजेटिभ हो वा होईन त्यसको जाँच नभएकोले त्यस्तो शवको व्यवस्थापन सेनाले गर्ने प्रावधान नरहेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले मृतकका परिवारजनको आग्रहलाई अस्वीकार गरे । कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन मात्रै नेपाली सेनाले गर्ने गरेका छन् शंकास्पद वा अन्य रोगले मरेकालाई नगर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । प्रशासनले शव व्यवस्थापन गर्न ईन्कार गरेपछि परिवारजनमा झन पीडा थपियो । एकातिर शव व्यवस्थापनमा अस्पतालले दवाव दिईरहेका अर्को तिर शव व्यवस्थापनको लागि कोहि तयार भईरहेको थिएन । मृतका दाईले अत्यमा आफ्ना साथिहरुलाई हारगुहार लगाए । साथिहरुले पनि शव व्यवस्थापनको लागि सबै पक्षसँग अनुयविनय गरे तर कोहि तयार भएन । स्थानीय समाजसेवि विरेन्द्र कर्णले भने,‘ शव व्यवस्थापनको लागि हामीले धेरै पहल गर्यौ तर कोही तयार भएन । अन्त्यमा हामीहरु आफ्ै गर्छौ भन्दै अस्पताल प्रशासनसँग मृतकको लागि ज्याकेट र कोरोना किट माग्यो ।
तर अस्पतालले त्योपनि दिन इन्कार गरिदियो ।’ उनले अगाडी भने,‘ अन्त्यमा जनकपुरका मेयर लालकिशोर साहलाई घटना वारे जानकारी गराएपछि उहाँले ५ थान कोरोना किट उपलब्ध गराउनु भयो । हामीले आफ्नै दाउरा तथा दाहसंस्कार विभिन्न समाग्री जुटाएर समसानघाटमा दाहसंस्कार गरियो ।’ स्थानीय युवाहरु सुशिल कर्ण,किसन मण्डल,मोहन रौनियार,मनिष सिंह, विरेन्द्र कर्ण लगायतले एम्बुलेन्समा राखेका शवलाई सनसानघाटमा लगेर मृत्यु भएको १२ घण्टापछि मंलगवार दिउँसो अन्तिमसंस्कार गरेका छन् । अमोदको दाहसंस्कारमा सक्रियता देखाएका युवा नेता सुशिल कर्णले भने,‘ जीवन र मृत्यु भागवानकै हातमा हो । तर यो संकटको वेलामा हामी एकअर्कालाई सहयोग गरेनौ भने यो महामारीलाई जित्न सक्दैनौ । मानवता नै समाप्त हुन्छ ।’


