अपडेट 
२०७८ जेष्ठ ६, बिहीबार ०७:१३

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् । विभिन्न कारणले काठमाण्डौ उपत्यका बाहिर गएकालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयकाअनुसार लगत तयार भएपछि छिट्टै प्रदेशको समन्वयमा खोप लगाउने मिति र ठाउँ तोकिनेछ । काठमाण्डौ उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा गएको २ गतेदेखि दोस्रो मात्राको खोप सञ्चालन भइरहेको छ । तर काठमाण्डौमा भेरोसेलको पहिलो खोप लगाएका धेरैजना निषेधाज्ञा भएपछि गाउँ फर्किएका छन् । खोपकै लागि उनीहरु काठमाण्डौ आउन नसक्ने भएकाले गाउँमै व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसैबीच कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज समयमै पाउनेमा आशङ्का बढेको छ । फागुनको अन्तिम हप्ता हिमाली जिल्लाका ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लाका ६५ वर्षभन्दा माथिकालाई पहिलो खोप लगाइएको थियो । पहिलो खोप लगाएकालाई १२ हप्ताभित्र लगाउनुपर्ने भनिए पनि त्यो अवधि सकिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेलले १६ हप्तासम्म पनि दोस्रो मात्रा लगाउन मिल्ने भएकाले ज्येष्ठ नागरिकका लागि छिट्टै खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । खोप आयातको पहल भइरहेको उहाँको भनाइ छ । ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो । कोभिशिल्ड खोप पहिले स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिमा रहेर काम गर्नेहरु, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजामती कर्मचारी र ज्येष्ठ नागरिकले लगाएका थिए । यीमध्ये दोस्रो डोज लगाउन नपाउनेमा ज्येष्ठ नागरिक धेरै छन् । भारत सरकारले अनुदानमा दिएको १० लाख, नेपाल सरकारले किनेको २० लाखमध्ये १० लाख डोज र कोभ्याक्स कार्यक्रममार्फत प्राप्त ३ लाख डोज खोपबाट नेपालमा खोप अभियान चलाइएको थियो । भारतको सेरम इन्स्टिच्युटबाट पूर्व सम्झौताअनुसार बाँकी १० लाख खोपका लागि नेपालले पहल गरिरहेको छ । तर खोप आउने अझै निश्चित भइसकेको छैन ।

Comment


Related News

Latest News

Trending News