
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी बिहीबार विधिपूर्वक मनाइएको छ ।
कोरोना भाइरसको दोश्रो भेरियन्ट तीव्र रुपमा फैलिदै गएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाले जानकी नवमी प्रभावित भएको छ । जानकीको माइती समेत रहेको जनकपुरधाममा तामझाम बिना विधिपूर्वक जानकीको जन्मोत्सव मनाइएको हो । सो अवसरमा जानकी मन्दिरमा विशेष पूजाआजा गरिएको छ । जानकी मन्दिरको मुल ढोका बन्द रहेपनि महन्थ रामतपेश्वर दास वैष्णवले सीमित सन्त महन्तको उपस्थितिमा जानकी नवमी मनाएका हुन् । गत वर्ष पनि कोरोना भाइरसको संक्रमण पैmलिन नदिन लगाएको लकडाउनका कारण मन्दिर भित्रै जानकी नवमी मनाएको थियो । जानकी नवमीको अवसरमा जनकपुरमा भव्य मेला लाग्ने छ । तर, कोरोना भाइरसका कारण लगातार दोश्रो वर्ष जानकी नवमी औपचारिकतामै सीमित भएको छ । धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा चित्रण गरिएको जनकनन्दिनी तथा जगजननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुन् । राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको छ । यसैबिच, जानकी नवमीको अवसरमा मन्दिरमा सवा किलो सुन चढाइएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र अनुयायी निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन् । हजारौँको संख्यामा भिड रहने गरेको जानकी मन्दिर विहिवार सुनसान देखिएको थियो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नवमीको दिनमा आ–आफ्नो घरमै पूजा अराधना गर्न सबैसँग आग्रह गरेका थिए । कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले घरघरमा आरती गर्न महन्थ दासले आग्रह गरे । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको थियो । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजय प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ । अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको छ । अयोध्यामा आएका लव र कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएका थिए । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त भएको थियो । सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रूपमा जानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ ।