पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमा १५१ जना महिला रहेकी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार धनुषामा ९५ जना, महोत्तरीमा २८ जना, सिरहामा ७३ जना, सप्तरीमा ७७ जना, रौतहटमा १७ जना, सर्लाहीमा ५१ जना, बारामा ३८ जना र पर्सामा ७५ जना संक्रमित थपिएका छन् । साथै अन्य प्रदेशका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ । विगत २ दिनदेखि प्रदेश २ का धनुषा र महोत्तरीमा संक्रमित घटेको छ । केहि दिनदेखि धनुषामा निरन्तर संक्रमित संख्या बढ्दै गएको थियो । प्रदेश २ का सबै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । तर पनि संक्रमित बढ्न थालेपछि सरकारी अधिकारीहरु चिन्तित बनेका थिए । सक्रिय संक्रमित भने झण्डै १० हजार पुगेको छ । शनिवार दिउँसो ४ बजे निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार यस प्रदेशमा सक्रिय संक्रमित ९ हजार ९३२ रहेका छन् । जसमध्ये अधिकर होम आइसोलेशनमै छन् । सक्रिय संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा विरामी कोचाकोच भएको छ । उपचारमा समेत समस्या भइरहेको अधिकारीहरु बताउँछन् । पर्सामा कोरोनाबाट थप ९ जनाको मृत्यू भएको तथ्यांक अध्यावधिक प्रदेश स्वास्थ्य निर्देशनालयले गराएको छ ।
हालसम्म यस प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ५१२ पुगेको हो ।


