वरिष्ठ पत्रकार माधव अचार्यको शनिबार निधन भएको छ ।
केहि वर्षदेखि छोरासँग अमेरिकामा बस्दै आएका आचार्यको शनिवार विहान काठमाण्डुमा निधन भएको छ । पछिल्लो समय उनी क्यान्सरले ग्रसित थिए । वि.स. १९९८ साल श्रावण २७ गते सिन्धुलीको रातोमाटो अन्तर्गत बारेटारमा जन्म लिएका आचार्य २०२० सालदेखि जनकपुरलाई आधार क्षेत्र बनाएर पत्रकारितामा लागेका थिए । आकांक्षा सप्ताहिक पत्रिकाबाट पत्रकारिताको यात्रा सुरु गरेका थिए । पञ्चायति व्यवस्था विरुद्ध कमल चलाएका आचार्यलाई २०२२ सालमा महोत्तरीका तत्कालिन अञ्चलाधिश मनमोहन मिश्रले पञ्चाय व्यवस्था विरुद्ध समाचार लेखेको भन्दै पत्रिका नै बन्द गराई दिए । त्यसको एक वर्ष पछि फेरि जनआकंक्षा नामक सप्ताहिक पत्रिका निकालेर आचार्यले आफ् ना पत्रकारिता यात्रालाई निरन्तरता दिई रहे । सोही क्रममा २०२६ सालमा तत्कालिन दामोदर शर्माले पञ्चायती व्यवस्था विरुद्ध समाचार,लेख तथा अन्य समाग्री लेखेको भन्दै राजकाज मुद्दामा २०२६ देखि २०३१ साल सम्म जेल जीवन समेत भोगेको जनकपुरका पत्रकार तथा साहित्यकार उपेन्द्र भगत नागवंशीद्वारा जनकपुरका प्रतिभाशालि पत्रकार नामक पुस्तकमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका २०५४ देखि २०५८ सम्म दुई कार्यकाल सभापति समेत रहेका आचार्य २०३४ सालमा क्षेत्रिय सञ्चार श्रोत केन्द्रबाट पदमानन्द नामक पुरस्कार र २०६७ सालमा सिमाञ्चल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए ।


