जनकपुरधाम उप–महानगरपालिकाले कोविड–१९ संक्रमणको चेन तोड्न वडा/नगरपालिका शिल गर्नकालागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
आइतवार बसेको संकट व्यवस्थापन समितिको बैठकवाट सो निर्णय गरिएको हो । जनकपुर उप–महानगर क्षेत्र भित्र देखिएको लापरवाही र दिनप्रतिदिन बढ्दै गएको विरामीहरुको संख्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिउको हो । साथै उप– महानगरपालिकाले हटस्पट क्षेत्रमा थप कडाई गर्ने भएको छ । कोरोना विमारीको संख्या दिनहुँ बढेपनि देखिएको लापरवाहीलाई मध्यनजर गर्दै थप कडाई गर्ने निर्णय गरिएको हो । बैठकवाट रेल्वे स्टेशन, पेठिया बजार, महावीर चोक, जानकी चोक, रामानन्द चोक तरकारी बजार लगायत भोजभतेर जस्ता अन्य संवेदनशिल क्षेत्रमा भिडभाडलाई नियन्त्रण गर्ने कडाई गर्ने भएको छ । त्यस्तै जनकपुरधाम उप– महानगरपालिकाले गोपालधर्मशालामा सञ्चालन गरेको आइसोलेशन सेन्टरमा अतिआवश्यक सामग्री म्याट्रेश, तन्ना, जग, पानी तताउने मेसिन, सावुन, औषधी किट, तुथ पेष्ट लगायतका सामग्रीहरु कम्तिमा एक सय सेट खरिद गर्ने निर्णय गरिएको हो । दिनप्रतिदिन विरामीहरुको संख्या बढ्दै गएको देखेर गोपालधर्मशालामा रहेको ३० शैयालाई ५० शैया क्षमताको आइसोलेशन सेन्टर बनाउन र आवश्यक थप २८ वटा खाट सहित वेड खरिद गर्ने र कम्तिमा ७ लिटर क्षमताको थप ३० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने र आइसोलेसन सेन्टरका विरामीको खाना खाजाको व्यवस्था समेत आइसोलेसन सेन्टर संचालन गर्न बजेटवाट व्यवस्थापन गर्ने भएको छ ।
कोभिड–१९ को विषमतालाई मध्ये नजर गरी थप एक हजार केएन–९५ मास्क, कम्तिमा २ हजार थान गलोभ्स, ५ सय थान पीपीई, १० हजार सर्जिकल मास्क र आवश्यकतानुसार भिटिएम खरिद गर्ने निर्णय गरिएको हो । आइतवार बसेको संकट व्यवस्थापन समितिको बैठकवाट कोभिड–१९ को नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन कोविड–१९ अतिप्रभावित वार्डहरुमा क्रमशः घुम्ती स्वाब संकलन गर्ने व्यवस्था मिलाउने र सोको जाँच गर्ने ल्याबका कर्मचारीहरुलाई दैनिक यातायात तथा भ्रमण खर्च लगायतका सुविधा दिन र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलाई विहान बेलुका खाना खाजाको अतिरिक्त सुविधाको व्यवस्था गरी स्वाब संकलन र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने कार्यमा स्वास्थ्य कार्यालय धनुषा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जिल्ला प्रशासन कार्यालय र प्रादेशिक अस्पताल २ प्रदेश प्रहरी कार्यालय संग थप समन्वय गरी सम्पूर्ण स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुलाई उच्च उत्प्रेरणाका साथ कोविड १९ नियन्त्रण तथा रोकथाम कार्यमा परिचालनको व्यवस्थापन गर्ने समेत निर्णय गरिएको छ । वैठकवाट कोविड १९ का पोजेटिभ देखिएका विरामीहरु मध्ये आर्थिक अवस्था कमजोर रहेका विरामीहरुलाई स्थानीय वडाका जनप्रतिनिधि संग समन्वय गरी अत्यावश्यक औषधी र खाद्यान्न सहयोग गर्ने र सो को खर्च यस समितिवाट सोध भर्ना गर्ने निर्णय गरिएको जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडकाले जानकारी दिएका छन् । त्यस्तै सीआईसीटी टिमलाई थप प्रभावकारी बनाउन उक्त कार्यमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, नगरप्रहरी, सवारी चालक लगायत अन्य कर्मचारीहरुलाई खटिएको मितिदेखिनै कोविड १९ कन्टेक्ट ट्रेसिङ्ग बजेट शिर्षकवाट विहान बेलुकाका अतिरिक्त खाना खाजा खर्च दिने साथै प्रति महिना एक हजार संचार खर्च, प्रति व्यक्ति प्रति महिना १० लिटर पेट्रोल सुविधा तथा व्याग १ र रैनकोट १ थानका दरले सुविधा उपलव्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खडकाले जानकारी दिए ।
त्यस्तै आइसोलेशन सेन्टरलाई प्रभावकारी रुपमा संचालन गर्न २ वटा मेडिकल अधिकृत करार सेवामा लिने र सो को व्यवस्थापन विपद् व्यवस्थापन कोषवाट गर्ने भएको छ । उप–महानगर क्षेत्र भित्र मात्रै १७ सय ६१ कोरोनाको विरामीहरु छन् । उप–महानगरक्षेत्र भित्र रहेको २५ वटा वडामध्यये सवै भन्दा बढी वडा ४ मा २ सय ९६, वडा ८ मा १ सय ४९, वडा १ मा १ सय ४०, वडा ७ मा १ सय २४, वडा २ मा १ सय १७ र वडा ९ मा १ सय १ जना कोरोनावाट संक्रमितहरु रहेका छन् भने अन्य वडाहरुमा भने एक सय भन्दा कमको संख्या रहेका छन् । उप–महानगरले थालेका सीआइसीटी कार्यक्रम अन्र्तगत स्वास्थयकर्मीहरुको विभिन्न समूह बनाई संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सुझाव सल्लाह तथा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने कार्यक्रम अन्र्तगत स्वास्थ्यकर्मीहरुको सम्पर्कमा १३ सय ८२ जना विरामीहरु आएका छन् भने क्लोज कन्टेक्टमा १८ सय ७७ जना रहेका छन् । जस मध्यये एक हजार २ जनालाई पिसिआर टेष्ट गराएका छन् जसमा १ सय ८५ जना पोजेटिभ आएका छन् भने विभिन्न कारणबस ३ सय ७४ जना सम्पर्क विहिन बनेका छन् । होम आइसोलेसनमा ८ सय ६८ जना छन् भने ७० जना विभिन्न अस्पतालमा भर्ना छन् । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकमा उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत खड्का, नेपाली काँग्रेसका नगरसभापति मनोजकुमार साह, जनता समाजवादी पार्टीका नगर सभापतिद्वय विष्णुदेव साह र रामचन्द्र पञ्जियार, प्रहरी, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतको उपस्थिति रहेको थियो ।


