
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा आईतवार ५३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये १८३ जना महिला रहेकी छन् । आईतवार धनुषाभन्दा महोत्तरीमा बढी संक्रमित थपिएका हुन् । धनुषामा धनुषामा ९९ जनामा र महोत्तरीमा १०४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । केहिदिन अगाडीसम्म धनुषामा संक्रमण दर उच्च रहेको थियो । यस्तै सिरहामा ४४ जना, सप्तरीमा ३५ जना, रौतहटमा ३८ जना, सर्लाहीमा १२ जना, बारामा सबभन्दा बढी १६६ जना र पर्सामा ३४ जना संक्रमित भेटिएका छन् । यस्तै यस प्रदेशमा बस्ने अन्य प्रदेशका ५ जनामा पनि संक्रमण देखिएको छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । आईतवार सक्रिय संक्रमितको संख्या १० हजार ४१९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए । उनका अनुसार सबभन्दा बढी पर्सामा झण्डै ३ हजार सक्रिय संक्रमित रहेका छन् । यस्तै धनुषामा २ हजार बढी सक्रिय संक्रमित छन् । महोत्तरी र बारामा पनि सक्रिय संक्रमित हजार नाघिसकेको छ । सरकारले सुविधा सम्पन्न आइसोलेशन वार्ड बनाउन नसक्दा ९५ प्रतिशत सक्रिय संक्रमित घरमै बसेका छन् । उनीहरु स्वास्थ्यकर्मीबाट परामर्श समेत पाइरहेका छैन् ।

सिरहा र सप्तरीमा कोरोनाबाट थप १३ जनाको मृत्यू भएको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गराएको छ । योसँगै यस प्रदेशमा हालसम्म कोरोनाले ज्यान लिनेको संख्या ५२५ पुगेको छ ।