बाराको कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर बस्ने दुई जना बालकको घाँटी रेटी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सरफुल्लाह अंसारी रहेका छन् । बालकहरुको आमासँगको हिमचिम र दुबैबिचको अबैध सम्बन्ध लुकाउन हत्या गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । मृतक बालकहरुको आमा र अभियुक्त बिचको सम्बन्धको बिषयमा मृतक बालकहरूलाई थाहा थियो । ईदमा आफ्नो बुवा आउँदा सबै कुरा भनी दिन्छु भनी मृतकहरूले भन्ने गरेकोले भेद खुल्ने डरले अभियुक्तले बालकहरुको हत्या गरेको प्रहरी नायब उपरिक्षक मिश्रले बताए । बालकहरुको बुवा तीन बर्ष देखि रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । मृतकहरूको आमा माइतीतर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले बालकहरूलाई लोभ लालच देखाई एकान्त स्थलमा लगेर हत्या गरेका थिए । अभियुक्तले भाउजु नातामा पर्ने बालकहरूको आमासँग छोराहरूलाई घरमै छाडी छोरीहरूलाई मात्र साथमा लिई भारततर्फ भाग्न बारम्बार दवाब दिने गरेका थिए । बालकहरूको आमाले छोराहरूलाई छाडन नमानेकोले अभियुक्तले बाधक बनेको उनीहरुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
यहीजेठ ३ गते साँझ करिब ७ बजेदेखि ९ बर्षीय अमान अंसारी र ७ बर्षीय उसमान अंसारी हराईरहेका थिए । उनीहरुको शब भोलि पल्ट उपमहानरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनको कोठामा फेला परेको थियो । बालकहरूकी आमा, एक दिदि र एक बहिनी गरी परिवारमा ५ जना घरमा बस्दै आएका थिए । तालिम प्राप्त कुकुर सहितको ९ जना विशेषज्ञ प्रहरी टोलीको सहयोगमा घट्नाको सुक्ष्म अनुसन्धान गरि अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


