जनता समाजवादी पार्टी(जसपा)को संघीय सांसदहरु विभाजित भइसकेर पार्टीको कार्यकारिणी समिति समेत विभाजित भएको अवस्थामा प्रदेश २ को सरकार त्यसको प्रभावबाट मुक्त रहेको दावी गरिएकोछ ।
प्रदेश सरकारबाट पूर्व राजपाका मन्त्रीहरुलाई हटाउने प्रयास भए सरकार नै ढल्ने धम्की मुख्यमन्त्री लालबाबु राउतलाई दिएकोछ । पूर्व राजपाको तर्फबाट प्रदेश सभामा प्रमुख सचेतक रहेका परमेश्वर साहले मुख्यमन्त्रीको निर्णयपछि हाम्रो निर्णय आउने बताए । ‘हामी मुख्यमन्त्रीको निर्णयलाई कुरिरहेका छौ’ उनले भने, उताबाट सरकारमा असर हुने कुनै निर्णय भए त्यसको परिणाम मुख्यमन्त्रीले भुक्तनु पर्नेछ । मुख्यमन्त्री राउतले भने केन्द्रमा जति विवाद भएपनि प्रदेश सरकारमा त्यसको प्रभाव नपर्ने दावी गरे ।‘केन्द्रको विवादले प्रदेश सरकार प्रभावित हुँदैन्’ उनले भने, प्रदेशमा नयाँ गठबन्धन हुने, सरकारबाट हटने र थपिने कुनै संभावना छैन् । पूर्व राजपा र समाजवादी पार्टी एकिकृत भइसकेपनि प्रदेश २ को संसदीय दल र प्रदेश २ समिति समायोजन भइसकेको छैन् ।प्रदेश सभामा दुवै दलको तर्फबाट प्रमुख सचेतक लगायतले सेवा सुविधा लिइरहेका छन् । जसपाको विधान अनुसार संसदीय दल समायोजनका लागि बनाइने विधानलाई प्रदेश कमिटीको कार्यकारिणी समितिले अनुमोदन गर्नुपर्ने छ ।
विधानमा यो बाध्यकारी प्रावधान राखिएकोले संसदीय दलको विधान अनुमोदनका लागि पहिले पार्टीको प्रदेश कमिटी समायोजन अनिवार्य रुपमा हुनुपर्ने जसपाका युवा नेता शेषनारायण यादव बताउँछन् । एक वर्ष भएपनि औपचारिक रुपमा दुवै दलको संयुक्त संसदीय दलको बैठक हुन सकेको छैन् । दुवै दलको नेता अलग–अलग छन् । पूर्व समाजवादी पार्टीको संसदीय दलको नेता लालबाबु राउत मुख्यमन्त्री छन् ।राजपा संसदीय दलका नेता जितेन्द्र सोनल दोस्रो वरियताको भौतिक पूर्वाधार विकास मन्त्री छन् । प्रदेशमा सत्ता परिवर्तनका लागि जसपा अध्यक्ष यादवमाथि दवाव भने बढन थालेकोछ ।नेपाली काँग्रेस र माओवादी केन्द्रले मिलेर सरकार बनाउन यादवलाई दवाव दिन थालेको बताइन्छ ।पूर्व सपाको ३० काँग्रेसको १९ र माओवादीको ८ समेत सरकार बनाउन संख्या पुग्नेछ ।पूर्व राजपाका तीन जना निर्वाचित र एकजना समानुपातिक सभासदपनि सपातिर लागिसकेका छन् । सरकारबाट हटाइए पूर्व सपाकै असन्तुष्ट सांसद र एमालेलाई समावेशगरि पूर्व राजपाकै नेतृत्वमा सरकार बनाउने धम्की दिन थालिएपछि मुख्यमन्त्री झस्केका छन् ।


