अपडेट 
२०७८ जेष्ठ १२, बुधबार ०७:३२

मनुष्यताको पाठ पठाउँदै विश्वमा मानिसको सर्वोच्चता कायम गर्न र शान्तिको मार्गभन्दा अरु कुनै पनि मार्ग ठूलो होइन भन्ने सिद्धार्थ गौतमलाई भगवान बुद्ध भनेर विश्वले चिन्दछ । वर्तमान नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमको जीवन निकै उतार चढावमा रहेको देखिन्छ । जतिखेर सिद्धार्थ गौतमको नामकरण भएको थियो, त्यत्तिखेर नै एकजना सिद्ध पुरुषले भविष्यवाणी गरेका थिए ः यो बालक सन्न्यासी हुनेछ । हिमालयमा तपस्या गर्ने असित मुनिलाई जब ज्ञात भयो कि भगवानको अवतरण भएको छ तब उनी दर्शन गर्न आएका थिए र उनले नै भविष्यवाणी गरेका थिए कि यो बालक सन्न्यासी हुनेछ । उनले राजदरबारमा भनेका थिए ः मसँग त्यत्ति समय छैन कि यिनको ज्ञानप्राप्तिपछिको स्वरुपको दर्शन गर्न सकूँ । त्यसबखत कपिलवस्तु निकै प्रसिद्ध राज्य थियो । यसअन्तर्गत अनेक राज्यहरु थिए । त्यत्तिबेलाका प्रमुख ठूला राज्यहरुमा कौशल, वैशाली र मगध हुन् । यीमध्ये कौशल राज्यसित कपिलवस्तुको युद्ध भएको थियो । युद्धमा युवराज सिद्धार्थको कूटनीतिले गर्दा कपिलवस्तुले विजय हासिल गरेको थियो । यही युद्धपश्चात यशोधरासित सिद्धार्थको विवाह भएको थियो । यद्यपि विवाहको सबै कुरो युद्धभन्दा पहिले नै छिनिसकिएको थियो ।

कपिलवस्तुका राजा थिए शुद्धोदन । उनका दुई रानी थिए । जेठी महारानीको कोखबाट सिद्धार्थको जन्म भएको थियो । सिद्धार्थको जन्म भएको केही दिनमै देहान्त भएको थियो । कान्छी रानी जो महारानी बनिन्, बाट सिद्धार्थको पालनपोषण भएको थियो । जब सिद्धार्थको नामकरण संस्कार सम्पन्न भयो र असित मुनिले सिद्धार्थ भविष्यमा सन्न्यासी बन्ने भविष्यवाणी गरे तब कपिलवस्तु राजधानीबाट वृद्ध, रोगी, तथा अति विपन्नलाई अन्यत्र व्यवस्थापन गरिएको थियो ताकि बालक सिद्धार्थमा रोगी, वृद्ध, गरिब, अति विपन्न र मृतकलाई नदेखोस् । यस अवस्थाका मानिसलाई देखेपछि करुणा जाग्दछ र त्यसबाट वैराग्य उत्पन्न हुने सम्भावना रहन्छ । राजा शुद्धोदनको चाहना थियो कि सिद्धार्थ गौतम सन्न्यासी होइन, सम्राट बनोस् । शाक्य संघका अध्यक्ष शद्धोदनका एक भाइ थिए द्रुद्धोदन । यिनलाई पनि राजाको पदवी दिइएको थियो । यिनकी पत्नी थिइन् मंगला । मंगला उच्च महत्वाकांक्षी थिइन् । पहिले उनले शुद्धोदनसित नै विवाह गर्न खोजेकी थिइन् तर जेठी महारानीको इच्छाअनुसार कान्छीलाई रोजेका थिए शुद्धोदनले । मंगलालाई महारानी बन्ने चाहना थियो जुन कुरा धेरैपटक शुद्धोदनसित व्यक्त गरेकी पनि थिइन् । द्रुद्धोदन र मंगलाबाट देवदत्त नामको सन्तानको जन्म भएको थियो । देवदत्त सिद्धार्थभन्दा जेठो थियो । सिद्धार्थ जन्मनुपूर्वसम्म द्रुद्धोदन र मंगलाले देवदत्त सम्राट हुने कुरामा पूर्ण विश्वस्त भइसकेका थिए । शुद्धोदनले पनि यस्तै व्यवहार गरिरहेका थिए । कुलगुरु वाचस्पतिले पुत्रयष्टि यज्ञ गराउँदा तेजस्वी पुत्र प्राप्त हुने बताएअनुसार शुद्धोदनले यज्ञ गराएका थिए ।

यज्ञपश्चात् जेठी महारानी गर्भवती भएकी थिइन् । के भनिन्छ भने कान्छी रानीले नै महारानीबाट सन्तानको जन्म होओस् भन्ने चाहना राखेकी थिइन् र भयो पनि यस्तै । जेठी महारानीको कोखमा सिद्धार्थको जन्म भयो तर लगत्तै मृत्यु हुँदा असली माताको हकदार कान्छी रानी नै हुन पुगिन् । सिद्धार्थलाई जन्म दिने आमाको बारेमा कहिल्यै बताइएन । यशोधरा गर्भवती भएको समयमा एकैचोटि सिद्धार्थको कानमा यो कुरा परेको थियो । सानैदेखि सिद्धार्थ अत्यन्त शान्त स्वभावका थिए भने देवदत्त धेरै चञ्चल । देवदत्तका माता–पिताको नजरमा त सिद्धार्थ महत्वाकांक्षाको अवरोध नै बनेर जन्म लिएको थियो । शिक्षा प्राप्त गर्ने उमेर भएपछि त्यत्तिबेलाको चलनअनुसार सिद्धार्थलाई कौशल पठाइएन किनभने डर थियो कि सिद्धार्थले वृद्ध, गरिब, रोगी, मृतक आदिलाई देख्नेछ र मनमा वैराग्यभाव उत्पन्न हुनेछ । त्यस जमानाका योग्य आचार्यहरुलाई बोलाएर कपिलवस्तुमै शिक्षाको प्रबन्ध गरियो र सबैलाई निर्देशन थियो कि सिद्धार्थलाई यस्तो क्षत्रिय बनाइयोस् कि भविष्यमा सम्राट बनोस् । जन्मले क्षत्रिय सिद्धार्थ कर्मले पनि पूर्ण क्षत्रिय बनोस् भन्ने चाहना थियो । सिद्धार्थ सबैभन्दा बढी आचायै कौडिन्यबाट बढी प्रभावित भए । त्यसपछि आमाको शिक्षाको प्रभाव पनि गहिरो रह्यो । सानै उमेरमा सबै शिक्षा प्राप्त गरे सिद्धार्थले । जब आचार्य कौडिन्यलाई कपिलवस्तुबाट एक किसिमले अपमानित गरेर निष्काशन गरिएको थियो, त्यत्तिबेला उनले सवर्ग भनेका थिए ः मलाई गर्व छ कि मैले सिद्धार्थलाई शिक्षा दिएँ, ऊजस्तो प्रतिभावान शिष्यलाई पाएर म धन्य छु, भविष्यले सिद्धार्थको आचार्य हुन पाएकोमा ममथि गर्व गर्नेछ ।

आफू कपिलवस्तुको महारानी हुन नपाएकोमा अत्यन्त क्षुब्ध मंगला आफ्नो छोरा देवदत्तलाई जसरी पनि कपिलवस्तुको सिंहासनमा देख्न चाहन्थिन् । देवधा (सम्भवतः देवदह) का राजा दन्डपानीसित द्रुद्धोदनको मित्रता थियो । दन्डपानीकी छोरी थिइन् यशोधरा । यशोधराको कुण्डलीमा महारानी बन्ने योग रहेको ज्योतिषीहरुले बताउने गरेका थिए । यो कुरा द्रुद्धोदन र मंगलालाई पनि जानकारी थियो । यसले गर्दा देवदत्तको विवाह कुनै पनि हालतमा यशोधरासित होओस् भन्ने चाहना दुवैजनाको रहेको थियो । देवदत्तमा अनेक गुण र सिद्धार्थमा अनेक अवगुण रहेको द्रुद्धोदनले दन्डपानीलाई बताउने गरेका थिए । दन्डपानी पनि शुद्धोदनदेखि मनमनै जल्ने गर्दथे । राजा दन्डपानीले आफ्नी छोरी यशोधराको विवाह देवदत्तसित होओस् भन्ने चाहन्थे तर यशोधराकी आमा भने जसरी पनि यशोधराको विवाह सिद्धार्थसित होओस् भन्ने चाहन्थिन् । यशोधरा पनि मनमनै सिद्धार्थलाई प्रेम गर्दथिन् । यो कुरा आमा र बुबा दुवैलाई थाहा थियो । सिद्धार्थ पनि यशोधरालाई प्रेम गर्दथे । परिवारको सबैभन्दा जेठो छोरो देवदत्त भएकाले पहिले कुमार देवदत्तकै विवाह हुनुपर्ने हो तर युवराज सिद्धार्थ पनि विवाहको लागि योग्य भइसकेका थिए । विवाहको लागि स्वयंवर भयो । स्वयंवरमा सिद्धार्थको जित हुन्छ । सिद्धार्थको जीत भएपछि शर्तअनुसार दन्डपानी बाध्य भएर यशोधराको विवाह सिद्धार्थसित गर्नुपर्ने हुन्छ । विवाहको तयारी चलिरहेकै बखत कौशलनरेश प्रसन्नजीतले कपिलवस्तुमाथि आक्रमण गर्ने खबर आउँछ । प्रसन्नजीतले अश्वमेघ यज्ञ गर्ने घोडा छोडिसकेको हुन्छ यसले गर्दा विवाहको तयारी रोकिन्छ ।

युद्ध सकिएपछि सिद्धार्थ–यशोधराको विवाह हुने शुद्धोदनले बताउँछन् । युद्ध नजिक आइपुगेकोले यसमा कुनै चमत्कार भइहाल्ने र देवदत्त तथा यशोधराको विवाह भइहाल्छ कि भन्ने आशा फेरि द्रुद्धोधन र मंगलाको मनमा पलाउँछ । देवदत्त पनि यही चाहन्छ कि युद्धले परिस्थिति बदलियो भने यशोधरासित विवाह हुन्छ आफ्नो । यज्ञको घोडा कपिलवस्तुको सीमामा प्रवेश गरेपछि बाँधेर राखिन्छ । यज्ञको घोडा जता पुग्छ, दुई शर्तसहित ः प्रसन्नजीतको आधिपत्य स्वीकार वा युद्ध । कपिलवस्तुले युद्ध रोज्दछ । कौशलको अथाह सेनाको अगाडि कपिलवस्तुको सेना अत्यन्त सानो ुन्छ तर युवराज सिद्धार्थ गौतमको कूटनीतिले काम गर्दछ । सानो घेरामा पारेर कपिलवस्तुले युद्ध जित्दछ । यस युद्धमा एकपटक राजा शुद्धोधन शत्रुपक्षबाट घेरिएर निकै ठूलो आपतमा परिसकेका हुन्छन् । प्रसन्नजितले शुद्धोदनको शिरच्छेदको लागि तरबार उचालिसकेका हुन्छन् तर सिद्धार्थको एउटा वाण प्रसन्नजीतले तरबार उठाएर हान्न लागेको आकाशतिर रहेको हातमा नै पस्दछ । आहत हुन पुगेका प्रसन्नजीत निमेषमै कपिलवस्तुको सेनाको घेरामा पर्दछन् । झन्डै पराजित भइसकेका प्रसन्नजीतका अगाडि सिद्धार्थले शान्तिको लागि यस्तो प्रस्ताव गर्दछन् ः युद्धले केवल विनाश गर्ने भएकोले दुवैतर्फका एक एक योद्धाले मात्र युद्ध लडून्, जुन पक्षको योद्धाको हार हुन्छ उसको हार र जुन पक्षको योद्धाको जीत हुन्छ उसको जीत हुनेछ । यसमा पनि कपिलवस्तुको जीत हुन्छ र कौशलनरेश प्रसन्नजीतले हार स्वीकार गर्दछन् ।

युद्धभन्दा अगाडि, युद्धको समयमा र युद्धभन्दा पछि पनि सिद्धार्थ गौतमको मनुष्यताले सबैलाई आश्चर्यचकित तुल्याएको थियो । युद्धमा पनि मानिस कसरी नमरोस् भन्ने सिद्धार्थको उद्देश्य तथा परीक्षण अहिले पनि मानवतावादको दृष्टिकोणले अत्यन्त उच्च कोटिको रहेको छ । महामानव सिद्धार्थ गौतमलाई शान्तिका अग्रदूत भनेर विश्वले यसै चिनेका होइनन् । सिद्धार्थले चाहेका भए वा नरोकेका भए कपिलवस्तुको शत्रु प्रसन्नजीतको तत्क्षण शिरच्छेद हुन्थ्यो । युद्धपछि कपिलवस्तुका विभिन्न राजाहरुले युवराजसित शत्रुलाई युद्धमा किन छोडेको भनेर प्रश्न पनि गरेका थिए राजसभामा तर उनले मानवतावादको पाठ सबैलाई पाठ पढाए । अहिंसाको पाठ पढाए । सिद्धार्थलाई उनका गुरु कौडिन्यले एकपटक भनेका थिए ः तिमी बहुत गज्जब छौ सिद्धार्थ, युद्धमा पनि अहिंसाको खोजी गर्दछौ । वास्तवमा सिद्धार्थको मानवतावाद कति उच्च थियो भन्ने यसबाट पनि बुझ्न सकिन्छ । शाक्य संघ अध्यक्ष शुद्धोदनको शिरच्छेद हुनै लाग्दा सिद्धार्थले जोगाउनु र प्रसन्नजीतको शिरच्छेदबाट पनि जोगाएर अझ दुवैतिरका हजारौँ सेनालाई युद्धमा मृत्यु हुनबाट जोगाउनु आदि कार्यले युवराज सिद्धार्थलाई कूटनीतिज्ञ तथा बुद्धिमान योद्धाका साथै शान्तिवीरको रूपमा परिभाषित गर्न पर्याप्त छ । युद्धको विभीषिका अन्त्य भएपछि सिद्धार्थ र यशोधराको विवाह भएको हो । विवाहमा शाक्य संघका सबै राजाहरु आएका थिए । साथै कौशलनरेश प्रसन्नजीत पनि आएका थिए । सिद्धार्थको विवाहमा मगध नरेश बिम्बिसार पनि आएका थिए भने वैशाली नरेश पनि पुगेका थिए ।

वैशाली नरेशलाई शुद्धोदनले निम्तो पठाउँदा नै नगरबधू अम्बपाली (आम्रपाली) लाई लिएर आउन आग्रह गरेका थिए । सिद्धार्थको विवाहमा वैशालीकी नगरबधूको पनि सहभागिता भएको थियो । आम्रपालीको प्रशंसा त्यत्तिबेलासम्म सर्वत्र व्याप्त भइसकेको थियो । बिम्बिसार, प्रसन्नजीत र शाक्य संघका राजाहरुले केवल नाम र प्रशंसामात्र सुनेका थिए आम्रपालीको तर पहिलोचोटि देख्ने अवसर भने सिद्धार्थको विवाहमा नै प्राप्त गरेका थिए । स्वयं राजा शुद्धोदनले पनि आम्रपालीको प्रशंसा गरेका थिए । आम्रपाली कालान्तरमा जीवनको उद्धरार्धमा बुद्धकी शिष्या बनेकी थिइन् । ज्ञान प्राप्त गरेपछि भगवान बुद्ध लामो समय वैशालीमा बसेका थिए । बौद्ध साहित्य तथा वैशालीको इतिहास दुवैले कम्तीमा तीनपटक भगवान बुद्ध वैशाली पुगेको उल्लेख गर्छन् । भगवान बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि वैशालीमाथि बिम्बिसारका छोरा अजातशत्रुले आक्रमण गरी ध्वस्त पारेका थिए । के भनिन्छ भने आम्रपालीले बुद्धको भक्तिमा विभिन्न भजनहरु लेखेकी थिइन् तीमध्ये सत्तर भजन बज्जिका भाषामा रहेको थियो । यसै कारण नेपालका भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल भन्दछन् ः बज्जिका भाषाको सम्बन्ध गौतम बुद्धसित जोड्नु बढी सान्दर्भिक हुन्छ । हुन त मंगलाले सिद्धार्थ–यशोधरा विवाहमा बाधा उत्पन्न गर्न अनेक षड्यन्त्र गरेकी थिइन् तर सबै षड्यन्त्रहरु असफल हुँदै गए । सिद्धार्थ–यशोधरा विवाह अत्यन्त भव्यतापूर्वक सम्पन्न भएको थियो । विवाहपश्चात् सिद्धार्थ र यशोधरालाई नगर परिक्रमा पनि गराइएको थियो ।

भनिन्छ सिद्धार्थ र यशोधरालाई नगर परिक्रमा गराउनको लागि तयार पारिएको रथमा प्रयोग गरिएका दुई घोडामध्ये एक थियो सिद्धार्थको आफ्नो कन्टक घोडा र अर्को त्यही घोडा थियो जुन प्रसन्नजीतले अश्वमेघ यज्ञका लागि छाडेका थिए । सिद्धार्थको सारथिको नाम चन्ना थियो । सिद्धार्थ र चन्नाको जन्म एकै समयमा भएको थियो । चन्नाका पिता पनि सिद्धार्थका पिताका सारथि थिए । सिद्धार्थको जन्म भएपछि शुद्धोदनले खुसी भएर केही माग्न भन्दा उनका सारथिले मागेका थिए ः मेरो छोरो चन्नाले पनि सिद्धार्थको सारथि बन्ने सौभाग्य प्राप्त गरोस् । राजा शुद्धोदनले सहर्ष स्वीकार गरेका थिए र कालान्तरमा उही चन्ना सिद्धार्थका सारथि र असल मित्र पनि बन्न सफल भएका थिए । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मजयन्तीको असरमा विश्वका हरेक मानिसमा मानवताको उच्च भाव सञ्चार होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

Comment


Related News

Latest News

Trending News