
आगामी ७ देखि १० भदौका लागि तय भएको नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ ।
विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर (विवाद भएका बाहेक)मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका हुन् । पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए । देउवाले महाधिवेशनबारे आफू प्रस्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरे ।

संवैधानिक व्यवस्थमा टेकेर कांग्रेसले यसअघि अन्तिमपटक केन्द्रीय समितिको म्याद यही भदौसम्म थपेको थियो । संविधानको धारा २६९ को उपधारा ४ ‘ख’मा ५ वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसके ६ महिना म्याद थप्न सक्ने प्रावधान छ । कांग्रेसले हालसम्म नवीकरण र क्रियाशील गरी करिब ८ लाख सदस्यता वितरण गरेको छ । केही जिल्लामा विवादका कारण सदस्याको काम नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा समायोजनकै काम हुन सकेको छैन भने समायोजन भएका सप्तरी, बारा र सिराहाको विवाद कायमै छ ।