अपडेट 
२०७८ जेष्ठ १४, शुक्रबार ०७:३५

कोरोना महामारीले प्रभावित प्रदेश २ मा गएको केहि दिनदेखि संक्रमितको संख्या घट्दो छ ।

दैनिक ६ सयसम्म संक्रमित फेला परेको प्रदेशमा करिब आधाले घटेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार सबैभन्दा बढी धनुषा जिल्लामा संक्रमित थपिएको छ । धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा ३१ जनासहित ८६ जना संक्रमित थपिएका छन् । धनुषाको ग्रामीण क्षेत्रमा पनि संक्रमितको संख्या बढ्न थालेको निर्देशनालयको तथ्यांकले देखाएको छ । यस्तै, महोत्तरीमा २७ जना महिलासहित ७४, सिरहामा १९ जनामहिलासहित ७४, सप्तरीमा ६ जना महिलासहित ३५, रौतहटमा १२ जना महिलासहित ३७, सर्लाहीमा ११, बारामा दुई जना महिलासहित १० र पर्सा जिल्लामा ८ जना महिलासहित १७ जना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ३५६ जनाको आरटी पीसीआर परीक्षण गर्दा १ सय ३८ जना पोजिटिभ देखिएका छन् । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ८९ जनाको परीक्षण गर्दा ३१ जना संक्रमित फेला परेको निर्देशनालयले जनाएको छ । गौर अस्पताल रौतहटमा गरिएको १ सय ८३ जनाको परीक्षणमा ३६ जना संक्रमित फेला परेका छन् । सिरहामा सो अवधिमा १ सय ८२ जनाको परीक्षण गर्दा ७२ जना पोजिटिभ फेला परेका हुन् । जलेश्वर अस्पतालमा गएको २४ घण्टामा ९१ जनाको परीक्षण गर्दा ३२ जनामा कोरोना पोजिटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १ सय ९२ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजिटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट परीक्षण गरिएको २० जनामध्ये चार जनामा संक्रमित थपिएका छन् । बुधबार पुष्टि भएको संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको निर्देशनालयले जनाएको छ । केही दिनदेखि लगातार संक्रमितको संख्या घट्दै गएपछि कोरोना जितेर घर फर्किनेको संख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८ सय ६७ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा एक सय ६७ जना महिला रहेका छन् । अहिलेसम्म प्रदेशमा २० हजार एक सय २८ जना कोरोना जितेर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ३७ महिलासहित ३१ हजार पाँच सय ७६ रहेको छ । यस अवधिमा रौतहटमा ११, पर्सा २, सप्तरी ४ र बाराका ७ गरी २४ जनाको कोरोनाका कारण मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० हजार ८ सय २१ रहेका छन् ।

तीन प्रतिशतले गराए पीसीआर परीक्षण
कोरोना महामारी फैलिए यता प्रदेश २ का करिब ३ प्रतिशत नागरिकले पीसीआर परीक्षण गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको पछिल्लो अवस्था बारे जानकारी लिन बोलाएको सरोकारबालाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांक अनुसार झण्डै तीन प्रतिशत नागरिकले पीसीआर परीक्षण गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पीसीआर परीक्षण गराएको जानकारी दिए । पीसीआर परीक्षण गराएका मध्ये १७ दशमलब ४७ प्रतिशत(३१ हजार २२३ जना) संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७३४ जना उपचार गराई रहेका छन् भने १० हजार ६२५ जना होम आइसोलेशनमा रहेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा हाल सम्म ६०३ जनाको मृत्यु भएको छ ।

कोरोना महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घट् दो क्रममा गएको छ । २४ घण्टामा ५६० सम्म पुगेको संक्रमण दर बुधबार ३४४ मा घटेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराए । तर उक्त दर फेरी पनि बढन सक्ने सम्भावना कायमै रहेकोले सतर्कता अपाउन आवश्यक रहेको बताए । बैठकमा उपस्थित अन्य सरोकारबालाहरुले हाल कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका विषयमा आ–आफनो निकायबाट भइरहेको प्रयास बारे जानकारी गराएका थिए । बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणी दुवाडी सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News