अपडेट 
२०७८ जेष्ठ १४, शुक्रबार ०७:४१

मधेशका नाममा राजनीति गर्ने राजनीतिक दलहरु अहिले मधेशमै सकसमा परेको देखिएको छ । संघीय (केन्द्रीय) राजनीतिको किचलोको वाछिटा मधेशकेन्द्रित दलहरुमाथि पर्दा पछिल्लो सकसपूर्ण अवस्थाको सिर्जना भएको कुरामा राजनीतिक विश्लेषकहरु सहमत छन् । कतिपय विश्लेषकका अनुसार यी दल भूराजनीतक चलखेलको शिकार पनि भएका छन् । सत्य के हो त्यो त निश्चय पनि भविष्यले निकर््यौल गर्ला नै । अहिलेलाई केही यकिनका साथ भन्ने प्रयास गर्नु हतारोमात्र हुनेछ । रोपे पेड बबुरका आम कहाँ से पाए ? मधेसमा निकै लोकप्रिय यो लोकोक्ति मधेशका राजनीतिक दलमाथि पनि चरितार्थ हुन पुगेको छ भनेर भनियो भने त्यो अनुचित हुने छैन । यस लोकोक्तिको सामान्य अर्थ हुन्छ– रूख भने बबुर (काँडायुक्त पोथ्रा)को रोप्ने अनि फलचाहीँ आँप फलोस् भनी अपेक्षा गर्ने ? यस्तो कसरी सम्भव हुन्छ ?

कुरो स्पष्ट छ, जेको फल खाने इच्छा छ, बिरुवा त्यसकै रोप्नुपर्छ । वर्तमान अवस्थामा मधेशकेन्द्रित राजनीतिक दलहरुले आफ्ना मतदातालाई जवाफ दिनै पर्दछ, त्यतिखेर बोट के रोपिएको थियो र अहिले के प्राप्तिको आकांक्षा राखिएको छ । पछिल्लो संसदीय र प्रादेशिक निर्वाचनमा ६ वटा पार्टी मिलेर बनेको तत्कालीन राजपा (राष्ट्रिय जनता पार्टी) र संघीय समाजवादी पार्टी (ससपा) मिलेर सहभागी भएका थिए । यिनको गठबन्धनलाई कतै एमाले र कतै काङ्ग्रेसले घोषित–अघोषित सहयोग गरेको कुरा कसैबाट लुकेको छैन । जे होस् त्यसबेला यो गठबन्धनले उपयोगितावादी राजनीतिका आधारमा अन्य दललाई आफ्ना पक्षमा उपयोग गरेको थियो । यसै आधारमा पछिल्ला दिनमा काङ्ग्रेस र एमालेले गठवन्धनबाट अनेक अपेक्षा पनि राखेका हुन् । यही कारण हो प्रदेशमा बेलाबखत काङ्ग्रेस र एमालेले ‘तर’ मार्ने गरेको कुरा चर्चामा आउने गरेको हो । कति सत्य हो वा होइन त्यो त सम्बन्धितहरुले बताउलान । तर यो आरोप नै हो भने पनि यसलाई ठाडै अस्वीकार गर्न सकिने अवस्था भने छैन । विगतको चुनावमा मधेसी गठबन्धनले बहुमत प्राप्त ग¥यो र प्रदेशमा सरकार पनि बनायो । यो गठबन्धानले संघीय संसदका लागि पनि उल्लेख्य सीट हात पर् यो । पछि त यो दुवै घटकले औपचारिक रूपमै गठजोड गरे र ‘जसपा’ जन्माए ।

जसपा जन्मिन त जान्मियो तर सबैलाई थाहा छ, नवगठित जसपा राम्ररी हुर्किन पाएन । अनेकथरि नेताको व्यवस्थापनको समस्या र तिनीहरुबीचको जँुगाको लडाईका कारण जसपा प्रारम्भदेखि नै विवादित रहँदै आयो । यो विवाद अहिले उत्कर्षमा पुगेको अनुभव गरिएको छ । अहिले यी दुई घटकबीच सम्बन्ध राम्रो छैन भन्ने स्पष्ट छ । खासगरी सङ्घीय राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्नेबारे दुवै घटकबीच विवाद छ । विवाद बढ्दै गएर गठजोडको गाँठो फुक्लिनै लागेको छ, जसको प्रभाव प्रदेश सरकारमा पनि चाँडै पर्न सक्ने आँकलन गरिएको छ । जगजाहेर छ,जसपाभित्रको पुरानो संघीय समाजवादी खेमा अर्थात उपेन्द्र यादव र डा बाबुराम भट्टराईहरु ओलीको विपक्षमा उभिएका छन् भने पुरानो राजपा खेमा अर्थात् महन्थ ठाकुर र राजेन्द्र महतोहरु ओलीको समर्थनमा प्रस्तुत् भएका छन् । बदो अचम्म छ, यिनीहरुबीच हाल देखा परेको कित्ताकाटको आधार राजनीतिक आस्था र दृष्टिकोण होइन । आस्थाकै कुरा गर्ने हो भने, विगतमा लोकतान्त्रिक पृष्ठभूमिका महन्थ र राजेन्द्र आफूलाई मूलधारको कम्युनिष्ट भनेर दावी गर्ने ओलीको पक्षमा छन् भने विगतका कम्युनिष्ट पृष्ठभूमिका उपेन्द्र, बाबुराम र महेन्द्र यादवहरु आफूलाई लोकतन्त्रको च्याम्पियन ठान्ने नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठवन्धनसँग जोडिएका छन् ।

यसबाट एउटा कुरा त स्पष्ट हुन्छ, पूरानो राजपा र ससपाबीच देखिएको नयाँ विवादको आधार सैद्धान्तिक र वैचारिक हुँदै होइन । यस अवस्थामा स्वाभाविकरुपले प्रश्न उठ्छ, त्यसा भए के हो त ? उत्तर सहज छैन । तर प्राप्त साक्ष्यका आधारमा विश्लेषणको प्रयत्न गर्ने हो भने यो विवादका पछाडी दईवटा कारण कारकका रुपमा रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ, पहिलो–भूराजनीति र दोस्रो आगामी निर्वाचनको तयारी । जे होस यी दुबै पक्षबीचको विवाद यतिखेर उत्कर्षमा छ र यसबाट प्रदेशमात्र नभएर सम्पूर्ण मधेश र राष्ट्रको राजनीति प्रभावित हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । प्रदेश राजनीतिका जानकारहरुका अनुसार प्रदेश २ को लालबाबु गादी (यिनी उपेन्द्र निकट मानिन्छन्)को मन्त्रीमण्डलबाट पुरानो राजपाबाट (पहिलेको तमलोपा पृष्ठभूमिका) मन्त्री बनेकालाई हटाउनेसम्म्को तयारी गरिँदैछ । तर यसो गर्नु सहज हुने छैन । मन्त्रिमण्डलमा चलखेल गर्न खोजेका खण्डमा पुरानो ससपाभित्रैबाट मुख्यमन्त्री परिवर्तनको कुरा पनि उठ्न सक्छ । यस आधारमा मुख्यमन्त्री लालबाबूले यो जोखिम नमोल्न सक्छन् र अर्कोतिर यदी मन्त्रीमण्डलबाट पुरानो राजपा पृष्ठभूमिकालाई हटाउने हो भने त्यो सन्दर्भ जसपाको फूटको औपचारिक र तात्कालिक कारण बन्न सक्छ । फूटको औपचारिक दोष खेप्न उपेन्द्र यादवहरु सहजै तयार नहुने विश्वास गर्न सकिन्छ । तर यदी जसपा फूटेछ भने पनि उपेन्द्र समूहलाई खासै फरक पर्ने छैन ।

हाल तीसभन्दा बढीको संख्यामा प्रदेशसभा सदस्य रहेको उपेन्द्र पक्षसँग कांग्रेस, माओवादी र माधवपक्षीय एमाले मिलेर सहजताका साथ प्रदेशमा नयाँ सरकार बन्न सक्छ । तर यो गठवन्धन मधेशको मूलधारको भावनाविपरित हुन सक्ने र यसो गरे आगामी निर्वाचनमा मधेश मुद्दा विसर्जन गरेको आरोप लाग्न सक्ने ठम्याईका आधारमा उपेन्द्र समूहले यो निर्णय तत्कालै लिने सम्भावना कम छ । तर राजनीतिमा आज गरिएको कुनै पनि कुराको अनुमान भविष्यमा गलत सावित हुन सक्छ । कसले सोचेको थियो कि मधेशका विरुद्ध आगो ओकल्ने र मधेशीलाई गैरराष्ट्रवादी देख्ने प्रधानमन्त्री ओलीसँग मधेशका मसीहा मानिनेहरुले ‘मधुमास’ मनाउने छन् ? मधेश प्रवेशमा रोक लगाइएका ओलीलाई आज त्यही मधेशी नेताले यसरी आफ्नो तारणहार मान्नेछन् भन्ने कुराको कल्पना कसले गरेको थियो ? यसैले के भन्न सकिन्छ भने राजनीतिमा तत्कालै कुनै कुराको अनुमान गर्न सकिँदैन । मधेशका लागि ओली जी हिजोका दिनमा अप्रीयकर थिए । आज सबैका प्रीय बनेका छन् ।

भोली फेरि अवस्थामा परिवर्तन आउन सक्छ, यस सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । आज नेपाली कांग्रेस मधेशका पक्षमा छैन भन्ने भाष्य कांग्रेसका विपक्षीहरुले संयुक्तरुपमा निर्माण गरेका छन् । राजनीति न हो, निर्वाचनको तिथि नजिकिँदै छ, आज कांग्रेसलाई निषेध गर्नेहरु भोलीका दिनमा कांगे्रससँग तालमेल नमिलाउन भनेर कसरी भन्न सकिन्छ ? हिजो पनि महन्थ र उपेन्द्रलाई जिताउन कांग्रेसले भूमिका निर्वाह गरेकै हो । भोली पनि उसको भूमिका नखोजिएला भन्ने कुराको ठोक्का कसरी गर्ने ? यस्तोमा आज तीक्ततापूर्ण सम्बन्ध रहेकोजस्तो देखिएको जसपाका नेताबीच सँधैका लागि यस्तै अवस्था विद्यमान रहला भन्ने कुराको कल्पना कसरी गर्ने ?

Comment


Related News

Latest News

Trending News