अपडेट 
२०७८ जेष्ठ १६, आईतवार ०८:०४

भरपर्दो सेवा प्रवाह नगरेको भन्दै पटक पटक प्रादेशिक अस्पताल जनकपुरधामको जनगुनासो बढ्दै गएको बेला प्रदेश सरकार यसप्रति गंभिर भएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरको सुधार गर्ने भएको छ । अस्पतालको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाएको थियो । मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने प्रश्नको जवाव अस्पतालका मेसु लगायत चिकित्सकहरु संग मागिएको थियो । मेसु लगायतका चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपाय बारे आ– आफनो धारणा राखेका थिए । चिकित्सकहरुले दिएको सुझावहरुलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्ययोजना सम्बन्धि प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका बरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ । समितिले चार दिन भित्र अस्पतालको उपचार , कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन ।

बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह , प्रमुख सचिव गोकर्णमणी दुवाडी , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल , समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा. प्रमोद यादव सहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News