
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् ।
ढल निकासको उचित व्यवस्था नहँुदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालय लगायतका सरकारी कार्यालय जलमग्न भएका छन् । कार्यालयहरुको वरिपरि र परिसरभित्र पानी जमेपछि सेवाग्राहीलाई आवतजावत गर्न तथा कोरोना महामारीका बेला आन्तरिक कामकाज गर्न आउजाउ गर्ने कर्मचारीलाई कठिनाइ उत्पन्न भएको छ । जलेश्वर नगरपालिकाले वर्षेनि नाला निर्माण र ढल निकासमा लाखौँ बजेट खर्चे पनि पानी निकासको उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । यता, लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन शनिबार पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् । भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ ।

अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् । एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै ! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ? बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउनुहुन्छ । पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने