२०७८ जेष्ठ १८, मंगलवार ०७:५९

मलगंवा । सर्लाहीको नेपाल भारत सिमावर्ती विष्णु गाउँपालिका वडा न–७ दुलवा स्थित प्रेमीको घरमा बिगत दुई सातादेखि बन्धक बनाइएकी एक युवतीको उद्धार गरिएको छ ।

प्रेमीको घरको दाउरा राख्ने गोठमा करिब १५ दिनदेखि बन्धक अवस्थामा बस्दै आएकी सोही गाउँकी दलित युवतीलाई आइतवार दिउँसो स्थानीय प्रशासन , प्रहरी तथा अधिकारकर्मीको टोलीले उद्धार गरि शान्ति सेवा केन्द्रको मलंगवा स्थित सेफ हाउसमा पठाएको छ । टोलीका सदस्य अधिकारकर्मी एवं विद्यार्थी नेता महेश पासवानका अनुसार विष्णु गापा वडा न–७ दुलवा निवासी स्थानिय किसनुदेव रायका छोरा शिवा राय यादवले सोही ठाउँ बस्ने मुसहर समुदायकी युवती चाँदनी माझीलाई विवाहको प्रलोभन देखाएर गएको बैशाख ५ गते गाउँबाट भगाएर बारा जिल्लाको जितपुर लगेका थिए । त्यहाँ करिब २० दिन सँगै बसेर गाउँ फर्केर आएपछि शिवाले जात फरक भएको कारण आफुहरु विवाह गर्न नमिल्ने भएको भन्दै चाँदनीलाई घर पठाएको तर उनका बुवाआमाले राख्न अस्विकार गरेपछि उनी फर्केर प्रेमीकै घरमा आइन । तर त्यहाँपनि तल्लो जातको भन्दै घरभित्र पस्न नदिई दाउरा राख्ने गोठमा राखेर प्रेमी शिवा गाउँ छाडेर भागेका थिए । विगत १५ दिनदेखि जनावर जस्तै गोठमा बन्धकी बनाएर राखिएकी पीडित युवतीलाई आइतवार उद्धार गरि मलंगवा स्थित सेफ हाउसमा लगेर राखिएको छ ।

कथित उपल्लो जातबाट अपहेलित दलित समुदायकी पीडित युवतीलाई न्याय दिलाउन र उनले पाउनुपर्ने हक दिलाउन आफुहरु एकरत्ति पछि नपर्ने अधिकारकर्मी एवं विद्यार्थी नेता पासवानले बताए ।

Comment


Related News

Latest News

Trending News