अपडेट 
२०७८ जेष्ठ १८, मंगलवार ०८:१३

पार्टीभित्रको शक्तिसंघर्षमा घमासान मच्चिएको जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबूराम भट्टराईले ‘चित्त न मिले हात मिलाएर सहजतापूर्वक आ–आफ्नो लागौँ, हिँडदा हिँडदै कुनै दिन फेरी भेँट हुनसक्छ’ भन्ने भावको ट्वीट गर्नुले जसपाभित्र नेताहरु एक आपसमा मिल्ने नै नगरी टाढिएको स्थिति स्पष्ट छ । डा. भट्टराईले यो ट् विट गरिरहँदा जसपाका अध्यक्षद्वय मध्येको एक महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसंग सरकारमा जान मन्त्रीको संख्या र पदको बार्गेनिङ्गमा छन् र स्थिति अनुकूल बन्यो भने यो लेख प्रकाशित हुँदासम्म सरकारमा सामेल भईसकेको पनि हुनसक्छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर एकीकृतपार्टी बनेपनि, उपेन्द्र यादव भर्सेज महन्थ–राजेन्द्रको शुरुदेखीकै श्रेष्ठता तथा वर्चस्वको कटु प्रतिस्पर्धा हल गर्न नसक्नुले नै जसपालाई अहिले कुनैपनि बेला फुट्नसक्ने स्थितिमा पु¥याएको हो । हुनपनि जसपा नयाँ राजनीतिक अवसरको खोजीमा नेका, एमाले तथा अन्य पार्टीहरुबाट पार्टी छाडेर आएका तराई मधेशका नेताहरुको पार्टी हो । राज्यबाट तराई मधेशका जनताहरुमाथी गरिएका पारम्परिक भेदभावबाट जन्मेको क्षेत्रीय आन्दोलन र जनसंघर्ष नयाँ अवसर खोजीरहेका नेताहरुको निम्ती अनुकूल मौका बनेको हो । राज्यको पारम्परिक भेदभाव र केन्द्रिय राजनैतिक शक्तिहरुको उदासीनताले नयाँ विकल्पको खोजीमा रहेको मधेश आन्दोलन यिनीहरुको निम्ती उपयुक्त अवसर बन्यो । यसैकारण तराई मधेशको राजनीतिमा सामाजिक रुपान्तरणको विचारभन्दापनि क्षेत्रीय मुद्दा निर्णायक देखिन्छ । प्रष्ट राजनीतिक विचार र जनप्रतिबद्धताको अभावले गर्दा नै, प्रजातान्त्रिक विचारको विर ासत बोकेको पार्टी होस वा कम्युनिस्ट पार्टी भन्ने माक्र्सवादी विचारको पार्टी होस वा राजतन्त्रवादी विचार भएको राजनीतिक पार्टी होस, जसपा सबैतिरबाट आएका नेताहरुको साझा मञ्च जस्तो देखिएको छ । यसरी सामाजिक रुपान्तरणको प्रष्ट विचार नभएपछि जनतालाई क्षेत्रीय मुद्दाको उत्तेजक भावनामा भुल्याएर चुनावी भोटमा रुपान्तरण गर्ने र त्यसको बलमा सत्तामा बार्गेनिङ्ग गरेर भागीदारी गर्नु यस राजनीतिको चरित्र नै भएको छ । अझ केन्द्रिय राजनीतिमा रहेका सत्ताधारी (संसदमा सरकार र प्रतिपक्षीदुबै) दलहरु गैरराजनीतिक र अवसरवादी चरित्र,क्षेत्रीयस्तरमा प्रभावशाली राजनीतिक दलहरुको अवसरवादी चरित्रको निम्ती अनुकूल नै हुने भयो ।

वस्तुतः क्षेत्रीय राजनीतिकदलहरु सत्ताको राजनीतिमा अवसरवादी चरित्रको हुन्छन् भन्ने अन्य देशको राजनीतिमा परिचित तथ्य हो । यो, हामी दक्षिणी छिमेकी भारतका क्षेत्रीय पार्टीहरुको भूमिकाबाट पनि बुझ्नसक्छौँ । उदाहरणको रुपमा दक्षिणभारतमा रहेका द्रविड मुनेत्र कडगम (डीएमके) र अन्ना द्रविड मुनेत्र कडगमलाई लिउँ । भारतको केन्द्रिय राजनीतिमा हावी रहेको दुई मुख्य दल भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कँग्रेससंग यी दलहरुको सम्बन्ध यस्तै छ । डिएमके भाजपासंग हुन्छ, भने एडिएमके कँग्रेससंग हुनेगर्छ, र डिएमके कँग्रेससंग छ भने एडिएमके बिजेपीसंग हुनेगर्छ । यसरी नै जसपाभित्रको दुई घटक उपेन्द्र यादवको सपा (मधेशी जनअधिकार फोरमकाल ेखी नै) र महन्थ–राजेन्द्रको राजपा (तमलोपा र सदभावनाकालदेखी नै) मधेशी आन्दोलन र मुद्दामा एक–आपसमा जुध्दै आएको तथ्य नयाँ होइन । यसै कटु प्रतिस्पर्धामा एउटा सरकारको समर्थनमा छ भने अर्को विरोधमा रहने गरेको पनि परिचित तथ्य नै हो । आन्दोलन तथा स्थानिय कार्यकर्ताहरु र मधेशी राजनीतिबाट प्रभावित जनमतको दबाबले एकीकृत भएपनि, अथवा अवसरवादी प्रतिस्पर्धामा फुटेपनि मधेश आन्दोलनको यो दुई धारा एक अर्कालाई धकेलेर अवसर छोप्ने मुद्रामा हमेशा देखिँदै आएको हो । हुनपनि मुद्दामात्रै भएपछि, र पार्टीको कुनै प्रष्ट राजनैतिक विचारधारा नभएपछि अवसरवाद बाहेक अरु बाँकी नै के रहन्छ ? समाजवादी पार्टीको रुपमा डा. भट्टराई उपेन्द्र यादवसंग मिल्न आएपछि बुर्जूआ लोकतान्त्रिक समाजवादी विचार निर्माण गर्न खोजेको देखिन्छ । तरसपा र पछि जसपामा समेत तिनै मधेशीमुद्दाको अवसरवादी राजनीति नै हावी रहेकोले उनको निम्ती पार्टीलाई विचारयुक्त बनाउन गाह्रो ेखिन्छ । त्यसैपनि डा. भट्टराईको लोकतान्त्रिक समाजवादको विचार आफैमा एउटा उदारवादी अवसरवादी विचार हो, जस्ले समाजवादको नाममा बजारलाई नै प्रश्रय दिन्छ ।

हुन त अहिले उपेन्द्रपक्षका केही सांसद र नेताहरु ठाकुर तिर र ठाकुरका केही सांसद र नेताहरु उपेन्द्रतिर छन् , तरपनि जसपाभित्रको दुई घटकको रुपमा सपा र राजपाको गुटबन्दी दुई फरक राजनैतिक विरासतको परिणाम हो । नेपाली काँग्रेस अर्थात प्रजातान्त्रिक धाराको प्रत्यत्पादनको रुपमा महन्थ ठाकुर, राजेन्द्र महतो, वृषेशचन्द्र लाल लगायत देखिन्छन् भने एमाले–माओवादी लगायत वामपन्थी धाराको प्रत्युत्पादनको रुपमा उपेन्द्र यादव र अशोक राई लगायत छन् । पछिबाट यसैमा माओवादी आन्दोलनको प्रत्युपादनको रुपमा डा.भट्टराईको समूहपनि मिसिन आएको देखिन्छ । सामाजिक रुपान्तरणको राजनैतिक प्रतिबद्धताबाट भिन्न क्षेत्रीय मुद्धामात्रको आधारमा बनेको जसपा अवसरवादी जमघट मात्र छ, जसका नेताहरुले मुद्दाहरुलाई उपेक्षा गरेर पटक पटक सत्तासंग बार्गेनिङ्ग गर्दैआएका छन् । यसपटक पनि यो सत्तामा भागीदारीको लालसा नै नयाँ विभाजनको कारण बनेको छ । यसभन्दा पूर्व आफू सत्तामा नजाने तर आवश्यक परेको बेला सरकारमा रहेको राजनीतिक पार्टीलाई सहयोग गर्दै आएको महन्थ ठाकुरको राजपा घटक यस पटक भने खुलेरै प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतम् मित्रको रुपमा देखिएको छ । स्मरणीय छ, जतिबेला समाजवादी पार्टीको रुपमा उपेन्द्र यादव सरकारमा थिए, त्यतिबेला ठाकुरहरु यस्को विरोधमा थिए । नागरिकता अध्यादेशलाई मधेशी आन्दोलनको माँग पूरा गरेको भनेर उनिहरु सरकारमा जानलाई खुट्टा उचालेर बसेका छन् । जसपाभित्रको अन्तर्विरोधको कटुता कतिसम्म गहिरो भईसकेको छ भने दुबैपक्षले एक अर्कालाई निष्कासन गर्ने गरी स्पष्टिकरण समेत सोधेका छन् ।

दुबैपक्षले एक अर्काको निम्ती निर्धारण गरेको २४ घन्टा समेत गुज्री सकेको छ कुनैपनि बेला एक अर्कालाई पार्टीबाट निष्कासित गरेको घोषणा हुनसक्छ । जसपाभित्रको दुई घटकका कार्यकर्ताहरुको मानसिकता हेर्ने हो भने मधेशी आन्दोलनको भविष्यको चिन्ता गर्नेहरुमा पार्टीभित्र एकता भईदिए राम्रो हुने धारणा देखिन्छ भने पुरानै पार्टीमा भविष्य हेर्ने कार्यकर्ता तथा नेताहरु माथिल्लो नेतृत्व जस्तै तलपनि एक आपसमा कटुताको स्थितिमा छन् । ओलीसंग कदाचित वार्ता सफल भएर सरकारमा जाने स्थिति आयो भने र सांसद नभएपनि मन्त्री बन्न पाउने अवसर आयो भने पुरानै पार्टीमा भविष्य हेर्नेहरुले पार्टी विभाजित होस चाह्नु स्वाभाविक नै हुने छ । त्यस्तै पार्टी विभाजित भयो भने फेरी माथीदेखी तलसम्म कार्यकारिणी पदाधिकारी र सदस्य पदहरुको अवसर सृजित हुन्छ । यस्तोमा पार्टीभित्रको अवसरवादी तत्वले पार्टी विभाजनलाई प्रोत्साहित गर्नुपनि अस्वाभाविक हुँदैन । नेपालको राजनीतिक पार्टीहरु भित्र यो अवसरवादी प्रवृत्ति नयाँ होइन र जसपा त यस्तै राजनैतिक अवसर खोजीरहेका नेताहरुबाट निर्मित पार्टी नै हो । जसपाभित्रको अहिलेको अन्तर्विरोध भनेको राष्ट्रपतिको सहयोगमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुलाई असम्वैधानिक भनेर त्यसको विरोध गर्ने कि त्यसलाई समर्थन गर्ने हो । डा. भट्टराई र उपेन्द्र यादव लगायतको सपा घटक ओलीको विरोधमा नेका र माओवादीकेन्द्र लगायतको मोर्चामा ओली विरोधमा संघर्षको मुद्रामा देखिन्छ, भने ठाकुर र महतो नेतृत्वको राजपा ओलीलाई समर्थन गर्दै सरकारमा जाने तयारी गरीरहेको छ । दुबै घटकले मधेशी मुद्दाको हितमा नै दुहाई दिईरहेका छन् । तर घटनाक्रमले जसपाभित्रको यो काटाकाटको अवस्था सत्ता लालसाको अवसरवाद नै हो । कुनैबेला मधेशी मुद्दाको कट्टर विरोधी र नागरिकता विधेयक पारित हुनुमा मूख्य अवरोधकको रुपमा देखिएका ओलीको सत्ता संकटमा परेपछि महन्थ ठाकुरलाई फकाउन नागरिकता अध्यादेश ल्याइएको हो भन्ने प्रष्ट छ ।

यो अध्यादेश छ महिनामा संसदबाट अनुमोदन भएन भने स्वतः नै निष्क्रिय हुने छ । यसरी यस अध्यादेशको भविष्य अनिश्चित नै छ । यस्तोमा मधेशको माँग पूरा भयो भनेर भन्नु सरकारमा जाने निहुँमात्र छ भन्नेपनि प्रष्ट नै छ । हुन त संसदिय राजनीति आफैमा एउटा अवसरवादी आहाल हो र यस्मा देखिएका नेका र माओवादीकेन्द्र लगायतका राजनीतिकदलहरुको राजनीतिक चरित्रपनि भिन्न छैन । तरपनि अहिले अनन्त सत्ता महत्वाकांक्षामा प्रधानमन्त्री ओलीले सम्वैधानिक धाराहरुलाई आफू अनुकूल व्याख्या गर्दै जसरी पटक पटक संसद विघटन गरेका छन्, त्यसले नेपाली राजनीतिमा सर्वसत्तावादी फासीवादको भयावह सम्भावनाहरु जन्माएको छ । त्यसैले यस्तो बेला ओलीको विरोधमा खडा हुनुको अर्थ त्यस्तो जनविरोधी सम्भावनाहरुको विरुद्ध खडा हुनु हो । यतिबेला संसदिय होस वा गैरसंसदिय दलहरु, सबैले खुलेर आफ्नो पक्ष राख्नुपर्ने हो । तर यस्तो सम्वेदनशील स्थितिमापनि राजपा घटकले आफूलाई तटस्थ राख्यो र ओलीको निम्ती सहज स्थिति सृजना ग¥यो । जस्तो कि सम्भावना बढी छ, राजपा घटक सरकारमा सामेल भयो भने यो उनिहरुको निम्ती ओली समर्थनको पुरस्कार हुनेछ । जसरीपनि, एकपटकको निम्ती भएपनि मन्त्री, मूख्यमन्त्री र प्रधानमन्त्री बन्नु नै मूल उद्देश्यरहने राजनीतिक माहौलमा यो अस्वाभाविक होइन । यस समग्र स्थितिले मधेशी राजनीतिका नेताहरु केन्द्रिय राजनीतिको जोखनामा सन्तुलन मिलाउने थपन (मैथिलीमा ‘पसना’भन्छ) भन्दा माथी हैसियत पु¥याउन नसकेको प्रष्ट देखिन्छ । विगतमा ओली सरकारमा उपेन्द्र यादव गएको स्थिति होस वा अहिले महन्थ–राजेन्द्रहरु सरकारमा जान खुट्टा उचालेर बसेको स्थिति होस, प्रवृत्तिमा भिन्नता छैन ।

तर त्रासदी के हो भने मधेश आन्दोलनले उठाएका मुद्दाहरु एकपटक फेरी अलपत्र स्थितिमा देखिएको छ । विशिष्टतामा यस मुद्दालाई मधेशकेन्द्रित पार्टीहरुले आफ्नो भनेपनि नेपालका राजनीतिक जनआन्दोलन र जनसंघर्षहरु, विशेष गरी माओवादी जनयुद्धमा वर्गीय, जातिय, क्षेत्रीय र लैङ्गिक शोषण र विभेदबाट मुक्तिका विषयहरुमा मधेशी जनताको क्षेत्रीय मुक्तिको प्रश्नपनि ऐतिहासिकरुपमा प्रमुखता पाउँदै आएको हो । परि स्थितिले एकपटक फेरी मधेशी मुद्दालाई वर्गीयताको प्रश्नसंग नजोडेसम्म यो मुद्दा हल हुननसक्ने साबित गरेको छ । मधेश आन्दोलनको नयाँ पुस्ताले नयाँ ढङ्गले सोच्नु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News