
गत बैशाख १३ मा भएको झडपमा घाईते धनुषाको सबैलाकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेका वडा नम्वर ४ की अन्दाजी ४५ वर्षीय सुमित्रादेवी यादव छिन् । विकास निर्माणको विषयमा झडप हुँदा उनी घाइते भएकी थिइन् । उननलाई तत्कालै उपचारका लागि जनकपुरधामस्थित प्रादेशक अस्पताल ल्याइएको थियो । तर यहाँ उपचार सम्भव भएन । त्यसपछि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार मृतक महिलाकी शव गाउँमा ल्याएपछि भीड नै उर्लिएको थियो । करिब हजारौं मानिस जम्मा भएका थिए । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले धनुषामा जारी गरेको निषेधाज्ञाको उनीहरुले वास्तै गरेनन् । उनको निधनले वडाबासी नै शोकमा डुबेको छ । सडकमा पिसिसि ढलानका लागि सडक फराकिलो पार्ने विषयमा स्थानीयबीच विवाद भएको थियो । विवाद उग्र बनेपछि भएको झडपमा उनी घाइते भएकी थिइन् । स्थानीयका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक महिला र कुटपिट गर्नेहरु पनि नेकपा एमालेकै कार्यकर्ता भएको स्थानीयले बताएका छन् । झडपमा घाईते महिलाको मृत्यु भएपछि आफ्न्तले ईलाका प्रहरी कार्यालय सबैलामा किटानी जाहेरी दर्ता गराउन खोजेका थिए । तर अहिलेसम्म उजुरी दर्ता भएको छैन ।
घटनामा संलग्नहरुको नाम भने पीडित परिवारले गोप्य राखेका छन् । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको बताएको छ ।