अपडेट 
२०७८ जेष्ठ १९, बुधबार ०८:०७

अलिकति रामायणकालीन पौराणिक भूगोलको विषयमा यसपटक चर्चा गर्ने प्रयासमा छु । रामायणको त्यो समय जतिखेर जनकपुरी, मिथिला वा विदेहको वैवाहिक सम्बन्ध अयोध्यासित जोडिएको थियो । त्यस समयमा विदेह आसपासका राज्य वा देशहरू कुन कुन थिए ? मौलापुर (रौतहट) नगरपालिकाको पतौरामा अतिप्राचीन महादेव मन्दिर र मूर्तिहरू भेटिएका छन् । धरतीभित्र एउटा ठूलो दरबारको अवशेष भेटिएको छ । यसको वास्तविकता के हो ? दिवंगत पुरातत्वविद् चन्देश्वर मिश्रले विदेह जनकको समकालीन पुरातात्विक संरचनाको रूपमा यसलाई व्याख्या गरेका छन् । सांकाश्या नरेश सुधन्वाले जानकी (सीता)सित विवाह गर्न विदेहलाई चारैतिरबाट एक वर्षसम्म घेरेर राखेको र युद्ध भएको प्रसंग रामायणमै पाइन्छ । यस युद्धमा सिरध्वजका भाइ कुशध्वज (कतै कतै धर्मध्वज नाम भएको पनि उल्लेख पाइन्छ) ले ठूलो सहयोग गरी सुधन्वालाई हराएका थिए । कुशध्वज पनि पराक्रमी भएकाले सिरध्वजले कुशध्वजलाई उनले जितेको र विदेहमाथिको ठूलो संकटलाई निमिट्यान्न पारेकाले सांकाश्याको राजा बनाइदिएका हुन्छन् । सांकाश्या र कुशध्वजको विषयमा श्रीमद् वाल्मीकीय रामायणमा लेखिएका यी श्लोक हेरौँ ः भ्राता मम महातेजा वीर्यवानतिधार्मिकः । कुशध्वज इति ख्यातः पुरीमध्यवसच्छुभाम् ।। वार्याफलकपर्यन्तां पिवन्निक्षुमतीं नदीम् ।

सांकाश्यां पुष्यसंकाशां विमानमिव पुष्पकम् ।। बालकाण्डको ७०औं सर्गको दोस्रो र तेस्रो श्लोक हुन् यी । यसको भावार्थ यसरी बताइएको छ ः “मेरो महातेजस्वी तथा पराक्रमी भाइ कुशध्वज जो अत्यन्त धर्मात्मा छन्, यस समय इक्षुमती नदीको जल पिउँदै त्यसैको किनारमा बसेको कल्याणमयी सांकाश्या नगरीमा निवास गर्दछन् । उनका चारैतिरको पर्खालको रक्षाको लागि शत्रुलाई निवारणार्थ समर्थ ठूल्ठूला यन्त्रहरू लगाइएका छन् । त्यो पुरी पुष्पकविमान समान विस्तृत तथा पुण्यले उत्पन्न हुने स्वर्गलोक सदृश सुन्दर छ ।”इक्षुमती नदी कुन वा कहाँ हो ? यस विषयमा वाल्मीकीय रामायणमा स्पष्ट छैन । कतिपयले इक्षुमती नदी यमुनालाई मानेका छन् । तर त्यत्ति टाढाबाट विदेहलाई चारैतिरबाट घेरेर सिरध्वजलाई एक वर्षसम्म युद्धमा अल्झाउने काम गरेको प्रसंगले अहिलेको अनुमानअनुसार कतिको सम्भव होला ? आचार्य चतुरसेनले वयं रक्षामः मा तत्समयको भूगोलको विषयमा संक्षेपमा उल्लेख गरेका छन् । सेनका अनुसार विदेहमा सिरध्वज, विदेहको संकाश्य शाखामा धर्मध्वज, वैशालीमा प्रमति, शर्यात शाखामा मधु यादव राज्य गरिरहेका थिए । मगधमा सुधन्वा, काशीमा ऋतुध्वज, माहिष्मतीमा सहस्रार्जन, मालवमा दुर्जय तथा उत्तरी बिहारमा सुबाहु राज्य गरिरहेका थिए । सुधन्वा मगधका राजा थिए कि सांकाश्याका ? यहाँ फरक मत देखिएको छ । मगधका राजा भएको भए सम्भव हुन्छ कि मगधबाट विदेहलाई घेरेर एक वर्षसम्म युद्ध गर्न सजिलो भएको होला । यहीँनेर के पनि विचार गर्नु आवश्यक देखिन्छ भने सेनले विदेहको संकाश्य शाखा भनेका छन् । यसको अर्थ सांकाश्या चाहिँ विदेशकै शाखा राज्य थियो । यदि शाखा राज्य हो भने यो विदेशकै निकट हुनुपर्छ । दशरथका तीन रानीमध्ये कौशल्या चाहिँ कौशल भन्ने देशकी, कैकेयी चाहिँ कैकेय देशकी राजकुमारीहरू हुन् भने सुमित्रा ? सुमित्राको विषयमा पनि एकमत रहेको पाइँदैन । कतिपयले सुमित्रालाई काशी नरेशकी पुत्री बताएका छन् । काशी भनेको बनारस हो र यो अयोध्याभन्दा झन्डै दखिनमा अवस्थित छ तर पौराणिक सन्दर्भका विश्वसनीय साहित्यकार सेनले सुमित्रालाई मगधका बताएका छन् । यथा ः “दशरथ महान योद्धा र प्रतापी राजा थिए ।

उनका तीन पत्नी थिए । प्रथम – दक्षिण कोशलाधिपति भानुमानकी पुत्री कौशल्या, दोस्री – मगध राजकुमारी सुमित्रा तथा तेस्री – उत्तरपश्चिमी आनवका नरेश केकयपुत्री कैकेयी ।” वयं रक्षामःमा स्पष्ट लेखिएको छ । सुमित्राको माइती देशको विषयमा दुई किसिमको तर्क पाइनुमा यो पनि कुराले प्रभाव पारेको हुनुपर्छ कि दशरथले काशी र मगध दुवैमाथि युद्धमा विजय प्राप्त गरेका थिए र दुवैलाई आफ्नो अधिन बनाएका थिए । यहाँ विदेहको संकाश्य, वैशालीको शर्यात र उत्तरी बिहार गरी तीन राज्यको प्रसंग निकै महत्वपूर्ण रहेको छ । विदेहको संकाश्य शाखामा धर्मध्वज (कुशध्वज), वैशालीको शर्यात शाखामा मधु यादव तथा उत्तरी बिहारमा सुबाही राजा भएको र तीन जना समकालीन भएको उल्लेख पाइन्छ । यिनीहरू विदेहका सिरध्वजका समकालीन हुन् । वाल्मीकी रामायणले वैशालीमा सुमति राजा भएको उल्लेख पाइन्छ भने सेनले वैशालीको राजा प्रमति भएको उल्लेख गरेका छन् । सुमतिका छोरा प्रमति भएको विभिन्न प्रमाणहरूमा उल्लेख पाइन्छ । अब अहिले विचार गरौँ, ती तीन राज्यहरू कहाँ हुनुपर्छ ? यदि विदेहको शाखा संकाश्य हो भने यो राज्य विदेशकै सीमाको आसपास हुनुपर्दछ । रामायणमा भनिएको इक्षुमती नदी जसरी अहिले यमुना हो भनेर चिनाइन्छ, सम्भवतः यो फरक हुन सक्छ र यसै आसपासको कुनै नदी हुनुपर्छ । कालान्तरमा यस नदीको नाम नै परिवर्तन भएको हुनुपर्छ । अहिलेसम्म कतै संकाश्य नगरीको अवशेष फेला परेको सुनिएको छैन र कतै यस नगरीको बारेमा उल्लेख भएको पनि पाइँदैन । रामले धनुषभंग गरेपछि कुशध्वजलाई सपरिवार बोलाइएको रामायणमा बताइएको छ तर समय वा अवधिबारे केही खुलाइएको छैन । सेनले शाखा राज्य भनेबाट विदेहको निकट नै भएको अनुमान गर्ने आधार देखिएको छ । वैशालीको शर्यात शाखामा मधु यादव राजा भएको सेनले उल्लेख गरेका छन् । सबैभन्दा स्पष्ट भूगोल वैशालीको रहेको छ । वैशालीको भूगोल तथा इतिहासको विषयमा जति स्पष्ट छ र तथ्य तथा प्रमाणहरू, भग्वानशेष तथा स्तम्भहरू सुरक्षित छन्, त्यत्ति अन्यत्र रहेको पाइँदैन ।

भगवान बुद्धले उपयोग गरेको पुष्करणी पोखरी, उपदेश दिएका ठाउँहरू, सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ तथा रामायणमा वर्णित राजा विशालले स्थापना गरेको विशालापुरीको अवशेष सबै सुरक्षित छन् । यो ठाउँ पटनाभन्दा उत्तरमा छ जुन अहिले पनि वैशाली एउटा जिल्ला हो बिहारको । रामायणको समयमा विश्वामित्रसित राम र लक्ष्मण वैशालीमा पुग्दा सुमति राजा भएको वाल्मीकीय लगायत अन्य रामायणहरूमा पनि स्पष्ट उल्लेख पाइन्छ । सेनले वैशालीको शाखा राज्यको रूपमा शर्यातलाई उल्लेख गरेका छन् र शर्यात शाखामा मधु यादव राज्य गरिरहेको भनेका छन् । यसको शाखा राज्यको रूपमा शर्यातको उल्लेख पाइनु र यहाँका राजा मधु यादव भएको पाइनु आफैमा सान्दर्भिक छ । शाखा राज्य गंगाभन्दा दक्षिण हुनुनपर्ने हो किनभने वैशालीसित सम्बन्धित सबै साहित्य तथा इतिहासमा यस साम्राज्यको सीमा गंगाभन्दा उत्तर नै रहेको उल्लेख पाइन्छ । यस आधारमा शर्यात शाखा गंगाभन्दा उत्तरकै क्षेत्रमा हुनुपर्छ र वैशालीकै आसपासको क्षेत्रमा हुनुपर्छ । यो शर्यात क्षेत्र वा भूगोल तथा यहाँका राजा भनिएका मधु यादवको विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ । यसै गरी उत्तरी बिहारमा सुबाहु राज्य गरिरहेको भनिएको छ । यो उत्तरी बिहार भनेको पनि करिब यही क्षेत्र हो । उत्तरी बिहार भनेर करिब अमूर्त क्षेत्र दिइए पनि सुबाहुलाई राजा बताइएको छ । सुबाहुको विषयमा पनि खासै कतै उल्लेख पाइन्न तर सेनको तर्कलाई केही समर्थन तुलसीकृत रामायणमा पाइन्छ । यस रामायणमा सुबाहुलाई नकारात्मक पात्रको रूपमा चिनाइएको छ । यसबाट यो अनुमान लगाउन सकिन्छ कि सुबाहु रामको विपक्षका थिए ।

जब विदेह र वैशाली दुवै रामपक्षका साम्राज्यको रूपमा रहेका हुन्छन् भने उत्तरी बिहार (सुबाहु) कसरी विपक्षका हुन गए ? तथा यिनको मूर्त भूगोल कुन हो ? उत्तर अज्ञात छ । विदेहको संकाश्य वा वैशालीको शर्यात वा उत्तरी बिहार ः यी तीनमध्ये कुनै पतौरा पो थियो कि ?

Comment


Related News

Latest News

Trending News