
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भर्चुअल बैठक बोलाएको छ ।
विहीवार बिहान ११ बजे केन्द्रीय सदस्यहरू, स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको हो । पार्टीभित्रको आन्तरिक विवाद विभाजन उन्मुख भएपछि दुवै पक्षका नेताहरूले पार्टी एकताका लागि अन्तिम प्रयत्न गरिरहेका छन् । विशेष गरि पछिल्लो समय दोस्रो तहका नेताहरुबीच दैनिकजसो छलफल र वार्ता भैरहेको छ । केपी ओली पक्षले पनि स्थायी कमिटी बैठक स्थगित गर्दै आएको छ । ओली पक्षले बुधवारका लागि बोलाइएको बैठक पनि विहीवारका लागि सारिएको छ । बुधवार एमाले महासचिव ईश्वर पोखरेल र खनाल–नेपाल समूहका नेता योगेश भट्टराईबीच भेटवार्ता भएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि नेताहरुबीच सघन छलफल चलिरहेको बताउनुभएको छ । एमालेलाई कुनै पनि हालतमा फुटबाट बचाउन नेताहरु लागिरहेको तामाङको दाबी छ। खनाल–नेपाल समूहको विहीवार हुने भर्चुअल बैठकमा नेताहरुले पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।

उक्त समूहको बुधवार भएको विद्याथीहरूको भेलामा नेता माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो ।