जनकपुरधाम । संघीय सरकारले वन क्षेत्र कटान गरेर महोत्तरीको बर्दिवासमा मेडिकल कलेज निर्माण गर्ने भएपछि जनकपुरमा त्यसको विरोध सुरु भएको छ ।
तराई मधेशको लाईफलाईन मानिएको चुरे वन जंगल फडानी गरि सरकारले मेडिकल कलेज बनाउनु उपयुक्त कार्य नरहेको भन्दै जनकपुरका वन प्राविधिक समाजले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउदै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । अगामी आर्थिक वर्षको लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटमा बर्दिवासमा मेडिकल कलेज तथा शिक्षण अस्पताल बनाउन वजेट विनियोजन गरेको छ । मेडिकल कलेजका लागि छनौट गरिएको जग्गामा ५४ हेक्टर जग्गा वन क्षेत्र रहेको छ । मेडिकल कलेज निर्माणका लागि वैकल्पिक जग्गाहरु पर्याप्त रहे पनि तराई मधेशको लाईफलाईनको रुपमा रहेको चुरे वन जंगल फडानी गर्नु कुनैपनि हालतमा उपयुक्त नरहेको समाजले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । सरकारले तराई मधेशलाई मरुभुमि हुन बाट बचाउन एकातर्फ कार्यक्रम ल्याउनु र अर्को तर्फ चुरे क्षेत्रको बिनास हुने गरि भौतिक संरचना निर्माण गर्नु दुःखद रहेको समाजका महासचिव तथा वन अभियानी सुरेश शर्माले जानकारी दिए ।
प्रदेश २ मा मेडिकल कलेज खुल्नु स्वागत योग्य रहेको भएपनि बिकल्प हुदा हुदै चुरे क्षेत्र बिनास गरि विकासको नाउँमा तराई मधेशको लाइफलाईनलाई समाप्त गर्नु चिन्ताको विषय रहेको उनले बताए ।


