वीरगञ्ज उद्योग वाणिज्य संघ र नारायणी अस्पतालको संयुक्त पहलमा नारायणी अस्पतालको माथिल्लो तल्लामा ३० वेडको बाल सघन चिकित्सा ईकाइको आइतबार उद्घाटन गरिएको छ ।
उदघाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिारी पिताम्बर घिमिरेले कोरोना संक्रमणको महामारीमा वीरगञ्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणमा सहयोग गरेर सराहनीय काम गरेको बताए । उनले आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जका व्यवसायीहरुको छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य संघको ईतिहास रहेको बताउदै प्रमुख जिल्ला अधिारी घिमिरेले यहाँका निजीक्षेत्रले हरेक क्षेत्रमा गर्ने सामाजिक कामको जति प्रशंसा गरेपनि कम रहेको बताए । तेश्रो भेरियण्टको कोरोनाको पनि जोखिम रहेकोले त्यसबाट बालबालिकामा बढी प्रभाव पर्ने समेत विज्ञहरुले सचेत गराईरहेको अवस्थामा नारायणी अस्प्तालमा बालबालिकाहरुको उपचारका लागि सघन चिकित्सा ईकाई निर्माण र संचालनले धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले कोरोना भाईरस संक्रमणको पहिलो र दोश्रो लहरमा वीरगञ्जले ठूलो मानवीय क्षति व्यहोर्नु परेको र फेरी तेश्रो भेरियण्ट पनि आउने सम्भावना भएकोले त्यसमा बालबालिका बढी प्रभावित हुने वैज्ञानिकहरुको भनाईलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा बाल सघन चिकित्सा ईकाई निर्माण गरिएको बताए । उनले बाल सघन चिकित्सा ईकाई निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघका सबै उद्योगी व्यवसायीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेको बताए ।
अध्यक्ष गुप्ताले ३० वेडको सघन चिकित्सा ईकाई निर्माणमा १५ लाख लागत लागेको र अब त्यसमा अक्सिजन पाईपलाईन जडानको लागि १० लाख खर्च हुने अनुमान रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठले वीरगञ्जका निजीक्षेत्रले सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आईरहेको र त्यसैको निरन्तरता स्वरुप बाल सघन चिकित्सा ईकाईको निर्माण र संचालन आएपछि बालबालिकाहरुको उपचारमा सहज हुने विचार व्यक्त गरे । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विरेन्द्र बहादुर प्रधानले अस्पतालमा बाल सघन चिकित्सा ईकाई स्थापना गर्न सहयोग गरेकोमा वीरगञ्ज उद्योग वाणिज्य संघलाई धन्यवाद दिदै जुन उद्देश्यले निर्माण गरिएको हो, यसले अस्पतालमा बालबालिकाको स्वास्थ्य उपचारमा सहज भएको र गुणस्तरीय सेवामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, नेकपा एमालेका महेश दास, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक टेमानी, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँल, पर्साका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसान्धानका अनुसन्धान उपनिर्देशक टिका पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।


