जनकपुरधाम ।प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।
५५ सदस्यीय संसदीय दलमा राउतको पक्षमा आइतवार अबेर सम्म ३२ जनाले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, उपसभामुख उपमा देव र नेतृ रेणु यादवका पुत्र अभिषेक यादवले हस्ताक्षर गरेका छैनन् ।उनीहरु सहित थप हस्ताक्षर सहित सोमवार प्रदेश सभामा निर्णय दर्ता गरिने छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको संसदीय दलको बैठकले बहुमतबाट राउतलाई दलको नेता चयन गरेको भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जनाए ।केहि सभासदहरु जिल्लामा रहेकाले उनीहरु सोमवार हस्ताक्षर गर्ने बताउँदै उनले संख्या ४१ माथि जाने दावी गरे । ‘बैठकले दलको बिधान पारित गरेपछि नेताको चयन भएको हो’ उनले भने, बैठकमा उपस्थितहरुले हस्ताक्षर गरेका हुन् ।केहि सभासदहरु काठमाण्डु र केहि जिल्लामा नै रहेकाले सबैको हस्ताक्षर नभएपनि समर्थन रहेको उनले दावी गरे । हस्ताक्षर गर्नेहरुमा पूर्व राजपाका ७ जना रहेका छन् ।तर भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संसदीय दलको बैठकबारे अनभिज्ञता प्रकट गरे ।‘दलको बैठक भएर बिधान पारित गरी नेता समेत चयन भएको सञ्चार माध्यमहरुबाट मात्र सुनेको छु’ उनले भने, अबैधानिक बाटोबाट गराइएको हस्ताक्षर प्रत्यक्षमा साबित नहुन सक्छ । प्रदेश सभामा पूर्व समाजवादी पार्टीको पक्षमा ३० जना रहेको र दुई जना मन्त्री पूर्व राजपाबाट मिलेपछि ३२ जना भएर बहुमत पुगेकै उनले स्वीकारे ।
संघिय राजनीतिक समिकरण अनुसार मुख्यमन्त्रीमा काँग्रेस र माओवादी केन्द्रको समर्थन रहेकालेपनि त्यो पक्ष बहुमतमा देखिएको सोनलले बताए । पूर्व जसपाका असन्तुष्ट सभासदहरु्रले दिउँसो मात्र हस्ताक्षर गरेका थिए ।उनीहरुलाई हस्ताक्षर गर्न अध्यक्ष यादवले फकाएका थिए । मन्त्री सोनलले सोमवार प्रदेश सभामा बिहान ९ बजे पूर्व राजपाका सभासदहरुको बैठक बोलाएका छन् ।तर सो समुहका ५ जना सभासद काठमाण्डुमा रहेकाले उनीहरु आउने छैनन् ।७ जनाले हस्ताक्षर नै गरिसकेकाले बैठकमा एक दर्जन सभासदहरुको सहभागिता रहने संभावना छ । प्रदेश २ मा ठाकुर–महतो समुहलाई ठूलो धक्का लागेको छ ।महतो समर्थित अधिकांश सभासदहरु यादव समुहमा गएका छन् । संघिय संसदीय दलमा ठाकुर–महतोले अपनाएकै बाटो पछ्याउँदै यादवले प्रदेशमा ठूलो धक्का दिएका छन् । महतोपनि एकतर्फी रुपमा हस्ताक्षर गराएर दलको नेता बनेका थिए । जसपामा अल्पमतमा परेका पूर्व राजपाको पक्षमा अब ४० प्रतिशत सभासद नरहेकाले दलको व्ह्पि उल्लंघन गरे कार्वाहीगरि सभासद पद नै खारेज गर्न सक्ने बलियो स्थितिमा यादव समुह पुगेको छ ।


