प्रदेश २ का साँसदहरुले खानीजन्य पदार्थको निकासी गर्ने निर्णय संघीय सरकारले नसच्याए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै साँसदहरुले चुरे र मधेस वर्वाद पार्न गिट्टी बालुवा निकासी गर्ने निर्णय गरेकोमा गम्भिर आपत्ति जनाएका हुन् । नेकपा एमाले प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले गिट्टी बालुवा निकासीको निर्णय नसच्याए जीवन मरणको सवाल बनाउने चेतावनी दिए । नेकपा एमाले नेतृत्वकै सरकारले सो निर्णय गरेपनि उनले भने, ‘गिट्टी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको निर्णय गलत हो ।’ चुरे विकासको असरले उत्तरी क्षेत्रका जनताले भोगिरहेको पीडा हामी साँसदहरुलाई थाहा छ– उनले भने । उनले राजनीतिक दलहरुले जनता र देशको आवश्यकता बिर्सेर सत्ताको खेलमा लागेकोमा आपत्ति जनाए । उनले भने, ‘जनता महामारीले आक्रान्त बनेका छन् ।
नेताहरु गित गाउन र सत्ता परिवर्तनको खेलमा व्यस्त छन् ।’ उनले प्रदेश सरकारले गलत नियतले ससर्त अनुदान पठाएको र साँसदहरु अपमानित भएकोमा सदनको ध्यानाकर्षण गराए । ‘एउटा÷दुईटा योजना दिएको छ भने तीन वटा फालेको छ’, उनले भने, ‘अहिले पनि सशर्त अनुदानलाई सच्याइयोस् । नत्र सहयोग गर्न सकिदैन ।’ नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले गिट्टी र बालुवा बेचेर व्यापार घाटा मिलाउने निर्णय हाँस्यास्पद भएको टिप्पणी गरे । उनले भने, ‘गिट्टी बालुवा उत्खनन गर्दा कस्तो प्रभाव पर्छ भन्ने कुराको सल्लाह विज्ञहरुसँग गरेर निर्णय लिनुपर्थ्यो । तर हचुवाको भरमा निर्णय गरेर मधेसलाई बर्बाद पार्न खोज्दैछ ।’ ‘जनकपुरमा पहिले ६०÷७० फिटमा पानी आउथ्यो’, उनले भने, ‘अहिले आउँदैन । यो किन भयो ? सब चुरे दोहनको असर हो ।’ भविष्यमा पिउने पानीको हाहाकार हुने र उब्जाउ जग्गा मरुभुमिमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरे । उनले भने– चुर जीवन रेखा हो । यो नै समाप्त भयो भने हामीले भारत जानुपर्छ वा पहाड ।’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रधानमन्त्री केपी ओलीले हिटलर जस्तै नेपालमा क्रुर शासक भएको टिप्पणी गरे । उनले अहिलेका क्रुर शासकले प्रदेशको संरचना पनि समाप्त पार्ने योजनामा रहेको र उनको हर्कतले नेपालीको शिर निहुरिएको बताए । उनले भने, ‘प्रदेश २ ले संघीयताको मुद्दा उठाएको छ । त्यसैले यसको संरक्षण गर्नुपर्छ । उनले संघीयता, गणतन्त्र, धर्मनिर्पेक्षता, समावेशिताको सवालमा सबै एक हुनुको विकल्प छैन ।’ उनले चुरेको गिट्टी बालुवा बेचेर देशको व्यापार घाटा व्यहोर्ने संघीय सरकारको सोच घटिया भएको बताए । उनले गिट्टी वालुवा निकासी गर्ने निर्णय फिर्ता लिन माग गरे ।
सत्तारुढ जनता समाजवादी पार्टीका साँसद रामअशिष यादवले संघीयता र संविधान जोगाउन सामुहिक प्रतिबद्धताको आवश्यकता रहेको बताए । उनले मधेस आन्दोलनको बलमा लालबाबु राउत नेतृत्वमा सरकार बनेको भन्दै आकस्मिक जनादेश र चमात्कार नभएको उल्लेख गरे । उनले बजेट अधिवेशन महत्वपूर्ण हुन्छ र आधुनिक शासन व्यवस्थामा लोक नीतिमा आधारित नीति तथा कार्यक्रम बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘यस प्रदेशमा आवश्यकता भन्दा कम बजेट दिने गरेको छ । त्यसैले बजेटको आकार र आवश्यकतालाई तुलना गर्न सकिदैन ।’ विषम् परिस्थिति आउने सम्भावना रहेको भन्दै उनले त्यस्तो परिस्थिति आए डममगाउन नहुने धारणा राखे । संघीयताको हत्या गर्न खोज्नेलाई दुष्टको संज्ञा दिँदै उनले गंगा जस्तो ठूलो हृदय बनाएर प्रदेश २ का साँसदहरु अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।


