रौतहटका दुई ठूला नदी बागमती र लालबकैयाका तटबन्ध र स्परहरुको मर्मत कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
प्रदेश २ मा बाढीको समयमा धेरै धनजनको क्षति गर्ने यी दुई नदीका कमजोर स्पर मर्मत गर्ने र भत्किएका, कमजोर तटबन्ध पुनः निर्माण भइरहेको हो ।यसवर्ष वर्षायाममा औसत भन्दा बढी वर्षा हुने र मनसुन पनि चाडै शुरु हुने पूर्वानुमान रहेकोले तटबन्धहरुलाई दुरुस्त बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बागमती र लालबकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हर सम्भव प्रयास भइरहेको उनको भनाइ छ ।रौतहटमा बागमती नदीको ११ र लालबकैयाको १३ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।नेपाल भारत सीमा क्षेत्रको जिरो किलोमिटरदेखि साढे १७ किलोमिटर उत्तरसम्मको बागमतीको बाँध उच्च जोखिममा रहेको आयोजना प्रमुख सिद्धिकीले बताए । रौतहटको ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा र रजवडा बाढीको उच्च जोखिम रहेको छ ।
नदी नियन्त्रण आयोजनाको प्रमुख सिद्धिकीले हाल विभिन्न स्थानको बाँध निर्माणको लागि ४१ करोड ४९ लाख रुपैयाँ लाग्ने भएको हुँदा माथिल्लो निकायमा पत्राचार गरिएको उनको भनाइ छ ।गत चैत महिनामा अर्थ मन्त्रालयसँग बजेट निकासाको लागि आग्रह गरिए पनि अहिलेसम्म नभएको उनले बताए । हाल भइरहेको सबै कामहरु उधारोमा गर्नुपरेको सिद्धिकीको गुनासो छ ।


