पूर्व खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वर्तमान सरकारका उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।
घुस रकम फालेर फरार रहेका बटेश्वर गाउँपालिकाका प्रमुख डम्वर बहादुर राउतले महतो मन्त्री बन्ने वितिकै कार्यालयमा आएको तर सम्वन्धित निकायले भने चासो नलिएको आरोप समेत लगाएका छन् । उनले आइतवार टुडेसंग कुराकानी गर्दै घुसको काण्डमा फरार रहेका लागि कानुनी कारवाही गर्नुको साटो पुर्नस्थापन गर्नु कानुनी राज्यको उल्लंघन गरेको टिप्पणी गरे । आम जनताको विश्वासको केन्द्र अख्तियारले आफै रंगेहात पक्राउ गर्ने समयमा उनी फरार भएको र उपस्थित भए उनीसंग कसैले कुनै चासो नराख्नु दुःखद रहेको नेता यादवले बताए । उनले भने–‘ अख्तियार तथा प्रशासनबाट जनताले न्यायको आशा राख्दछ र यी निकायहरुले कारवाहीको प्रक्रिया अगाडी बढाउनेछ ।’ यता, ८ लाख घुस काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष राउत कार्यालय फर्केपछि जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, नागरिक समाजलगायतका युवाले बिरोध प्रदर्शन गरेका छन् । अध्यक्ष राउतलाई कार्यालय प्रवेशमा रोक लगाउन जसपाका स्थानीय कार्यकर्ता, नागरिक समाजलगायत युवाले आइतबार गाउँपालिकाको कार्यालय अगाडी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका सहभागिहरुले अध्यक्ष राउतलाई कानुनले सफाई दिएपनि समाजको नजरमा अझै दोषी रहेको बताए । जनताको नजरमा सफाई पाउन गाउँपालिका अध्यक्ष राउत समाजको अगाडि आएर माफी माग्नुपर्ने बताए । प्रदर्शनमा जसपाका नेता राजकिशोर महतो, युवा नेता अजय राउत, नागरिक समाजका श्रवन कुमार, राजेश महतोसहित युवाहरुको सहभागिता थियो । गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धा आयोगको केन्द्रिय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ् याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुसरकम बाटोमा फालेर भागेका थिए। उनी अख्तियारबाट सफाइ पत्र लिएर गएको शुक्रबार अपराहन्न ३ महिनापछि घर फर्केका छन् । उनलाई घरसम्म पुर्याउन उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ आएका थिए ।


