अपडेट 
२०७८ असार ३, बिहीबार ०७:११

मङ्गलवारदेखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ ।  बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक/एक जना गरी जम्मा छ जनाको ज्यान गएको छ । त्यस्तै बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एक/एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् ।

यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ । बाढी, पहिरो र डुबानको जोखिम हुने नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News