२०७८ असार ३, बिहीबार ०८:२३

जनकपुरधाम । मंगलवारको बर्षाले आएको बाढीबाट देशका कैयौं स्थानलाई नराम्ररी प्रभावित बनायो । दर्जनौं व्यक्तिको ज्यान गयो । सरकारले हेलिकप्टरबाट फसेका नागरिकको उद्धार गरेपनि अझै कैयौं बेपत्ता छन् । विज्ञहरुले यसवर्ष बढी पार्ने पर्ने र बाढी पहिरोबाट १८ लाख मानिस प्रत्यक्ष रुपमा प्रभावित हुने अनुमान गरेको छ ।

मौसम विभागले तीन दिन अझै भारी वर्षाको सम्भावना रहेको भनेको छ । पहाडमै पनि भारी वर्षा भयो भने प्रदेश २ का अधिकांश नदीमा बाढी आउने सम्भावना छ । हुन त हरेक वर्ष मधेसका जिल्लामा सयौं व्यक्तिले ज्यान गुमाउँछन् । यस प्रदेशकै लाखौं मानिस प्रभावित हुन्छन् । कैयौंको घर बग्छ । तर बाढीबाट हुने क्षति कम गर्ने प्रदेश सरकारको तयारी नगन्य देखिएको छ । जब संकट अगाडी आउँछ, अनी स्थानीय प्रशासनले तयारी सुरु गर्छ । त्यसैले क्षति बढी हुने गरेको विज्ञहरु बताउँछन् । मौसम विद्हरुले तीनदिन भारी वर्षा हुने भनिसकेपछि सप्तरी प्रशासनले कटान रोकथाम गर्न लाईलन बोरा खरिद गर्ने, नदी आसपासका बस्तीलाई सतर्कता गराउने जस्ता निर्णय गरेको छ । नदीको कटान रोक्न सप्तरी प्रशासनले भर्खर बोरा खरिद गर्ने निर्णय गर्नुले नै सरकार जिउधनको सुरक्षा गर्न कति संवेदनशिल छ भन्ने स्पष्ट हुन्छ । अन्य जिल्लाको अवस्था पनि यस्तै छ । कतिपय जिल्ला प्रशासन कार्यालयले त बाढीबाट हुने क्षति रोक्न छलफल पनि थालेका छैन । प्रशासनको यो गम्भीर लापरबाही हो– विज्ञहरुको कथन छ ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बाढीबाट हुने क्षति रोक्न त सकिदैन तर कम गर्न आवश्यक तयारी थालिसकेको बताउँछन् । उनले नदी क्षेत्रका बासिन्दालाई सचेत गराएको र सुरक्षा निकायलाई पनि सतर्क भएर बस्न निर्देशन दिएको बताए । मन्त्री यादवले सुरक्षा निकायलाई बाढीमा फस्नेहरुलाई उद्धार गर्न आवश्यक उपकरण तथा सामग्रीहरु प्रदान गरेको बताए । उनले भने, ‘जनकपुरको गंगासागर पोखरीमा सुरक्षा निकायले उद्धारको पूर्वाभ्यास गरे । अन्य जिल्लामा पनि पूर्वाभ्यास जारी छ । उद्धारका लागि सुरक्षा निकाय तयार भएका छन् ।’

Comment


Related News

Latest News

Trending News