गौर । बोक्सीको आरोपमा छिमेकीले गरेको कुटपिटबाट घाइते भै उपचारार्थ रहेकी एक बृद्ध महिलाको उपचारको लागि मेची महाकाली बुहारी संयुक्त आवाज सस्थाले आर्थिक सहयोग गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल निवासी घाइते ६५ वर्षीया श्रीपति देवीलाई उपचारको लागि उक्त सस्थाले नगद १० हजार रुपैयाँ सहयोग गरेको हो ।
गएको शनिवार आफ्नो घरबाट शिवनगर मन्दिरमा गइरहेकी श्रीपति देवीलाई छिमेकी सन्दिप महरा र उनका साथमा रहेका अन्य व्यक्तिले धारिलो हतियार र भट्टा लगायतबाट अन्धाधुन्ध हमला गरि घाइते बनाएर बाटोमा छाडेर फरार भएको थियो । घटना स्थलमा अचेत अवस्थामा रहेकी बृद्ध महिलालाई तत्काल उद्दार गरि उपचारको लागि चन्द्रनिगाहपुर स्थित स्वास्थ्य केन्द्रमा उपचारार्थ छन् । मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्माले ५ हजार र काठमाण्डु शाखाले उपलव्ध गराएको ५ हजार गरि १० हजार नगद अस्पतालमा गएर पीडित परिवारलाई हस्तानान्तरण गरेको मेची महाकाली बुहारी संयुक्त आवाजका प्रदेश २ संयोजक पुजा पाठक तिमिल्सिनाले जानकारी दिइन् । पीडितको उपचारको लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत पाठकले जनाएको छ । आक्रमणमा परेकी उक्त महिलाको टाउको ,कान , लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
चंद्रपुर स्थित सिभिल अस्पतालमा उपचार भैरहेको महिलाको टाउकोमा गहिरो चोट लागेको र भाटाबाट प्रहार गर्दा काटिन गएको १० ठाउमा ३०० टाका लागेको चिकित्सकले बताएको छ । १० वर्ष अगाडी श्रीमानको मृत्यु भएको श्रीपति देवीको छोरालाई सशस्त्र द्वन्दको बेला माओवादीले गोली हानी हत्या गरेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरि अनुसन्धानको कार्य अघि बढाएको छ । पक्राउ पर्नेमा माधव नारायण नगरपालिका ५ का जंगीलाल महरा रहेको र अन्य आरोपितको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पिडित परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएकोले उपचार गराउन समस्या हुने भएको छ । केहि नभएकोले उपचार गराउन समस्या हुने बुहारी अनारकलीले बताएकी छिन् । दैनिक ज्यालादारी गरेर परिवार चलाउदै आएकोमा सासुको उपचारमा लाग्ने रकम कहाबाट जोहो गरिने भनि चिन्ताले सताउन थालेको बताए । उनले उपचारमा सहयोग गरि दिन समेत अपिल गरेकी छिन् ।


