जनकपुरधाम । प्राकृतिक प्रकोपको हिसावले सात वटै प्रदेश मध्ये उच्च जोखिममा प्रदेश २ रहेको छ । वर्षायाममा प्रदेशबासी बाढी पहिरो, डुबान जस्ता विपद्को शिकार हुन्छ भने जाडोमा शितलहरको सास्ती झेल्न बाध्य हुन्छ । त्यसैगरि, सुख्खायाममा आगलागीले वर्षेनी जनधनको क्षति प्रदेश २ मा हुदै आएको छ । वर्षायाम सुरुसँगै गण्डकी प्रदेशमा बाढी पहिरोले मच्चाएको वितण्डा पछि यस वर्ष बाढी पहिरोले ठुलो जनधनको क्षति हुने संकेत देखिएको छ । विगत दुई आर्थिक वर्षमा बाढी तथा डुबानमा परेर प्रदेश २ मा ९२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार समिक्षा अवधिमा बाढी तथा डुबानमा परी रौतहटमा ४३, धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५, पर्सामा ६ र बारामा २ जनाको मृत्यु भएको छ । गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश नम्बर २ मा कृषिमा मात्रै अढाई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका ८ वटै जिल्लामा गत वर्ष कृषि क्षेत्रमा मात्र २ अर्ब ६७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । वर्षायाममा प्रदेशमा हुने अविरल वर्षाका कारण मानवीय तथा धनको क्षतिलाई न्युनिकरण गर्न प्रदेशका तीनै तहका सुरक्षा नकाय (नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना) ले संयुक्त अभ्यास थालेको छ । तीन निकायका सुरक्षाकर्मीले प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा विपद् खोज, उद्धार तथा प्रति कार्यको संयुक्त अभ्यास गरिरहेका छन् । सप्तरीको राजविराज नगरपालिकास्थित कुर्मी पोखरीमा सशस्त्र प्रहरीका २५, नेपाली सेनाका ६० र नेपाल प्रहरीका ३० गरि ११५ जना सुरक्षाकर्मीले संयुक्त अभ्यास गरिरहेको छ । त्यसैगरि, सिरहाको कर्जन्हा नगरपालिकास्थित बाबातालमा नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका २० र नेपाली सेनाका २० गरि ६९ जना, धनुषाको जनकपुरधाम उपमहनगरपालिकाको गंगासागरमा नेपाल प्रहरी १९, सशस्त्र प्रहरी ६० र नेपाली ेनाको ४० गरि १४५ जना सुरक्षाकर्मीले विपद् उद्धार सम्बन्धि प्रशिक्षण लिई रहेको प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डिआईजी सिद्धि गौतमले बताए ।
त्यसैगरि, महोत्तरीको जलेश्वर नगरपालिका १ स्थित रणभीम गणमा नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका १५ र नेपाली सेनाका १५ गरि ४५ जना,सर्लाहीको बागमति नदीमा नेपाल प्रहरी ३०, सशस्त्र प्रहरी ४० र नेपाली सेना,रौतहटको गौरस्थित बरहवातालमा नेपाल प्रहरी ४०, सशस्त्र प्रहरी ५१ र नेपाली सेनाको ७० जना,वाराको कलैया उपमपहनगरपालिका १ स्थित नेपाली सेनाको ज्वाला दल गणमा नेपाल प्रहरी २०, सशस्त्र प्रहरी १० र नेपाली सेना २० गरि ५० जना र पर्साको विरगंज–८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सामा नेपाल प्रहरी २८, सशस्त्र प्रहरी १० र नेपाली सेना १० गरि ४८ जना सुरक्षाकर्मिले विपद् उद्धार तथा प्रति कार्य सम्बन्धि संयुक्त अभ्यास गरिरहेको डिआईजी गौतमले बताए । ति सुरक्षाकर्मिले एक सप्ताहदेखि नियमित रुपमा अभ्यास गरिरहेको उनले बताए । कुनै पनि प्राकृति प्रकोप आफ्नो हातमा हुदैन, डिआईजी सिंहले भने,‘ विगतमा घटनाहरुलाई मध्यनजर गर्दै हामीले प्रदेशमा आउने सक्ने बाढीपहिरो तथा डुबान कटानबाट हुने जनधनको क्षतिलाई कसरी न्युनिकरण गर्ने ? मानविय तथा भौतिक क्षतिबाट कसरी जोगाउने विषयलाई केन्द्रित भएर हामीले सुरक्षा निकायका तीनै अंगको संयुक्त अभ्यास गरिरहेको छौ ।’


