
जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजले धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाका आफन्तहरुमा राहत वितरण गरेका छन् ।
मुखिया मुसरनिया गाउँपालिका अन्तर्गत लक्ष्मीपुरमा केहि दिन अघि पाँच जना बालिका माछा पालनका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको थियो । शनिवार पीडित परिवारलाई भेटघाट गर्दै प्रदेश प्रमुख अहिराजले क्लोथ बैंकको समन्वयमा राहत वितरण गरेका हुन् । पीडित परिवारलाई प्रदेश प्रमुख अहिराजले व्यक्तिगत रुपमा एक/एक क्वीन्टल चामल र क्लोथ बैंकले लुगा, झुल, कम्बल, मास्क, सेनिटाईजर चार पिस साबुन वित्तरण गरिएको बैंकका उपाध्यक्ष पुरन साहले बताए । प्रदेश प्रमुख डा.अहिराजले पाँचवटै शोकाकुल परिवारको घरमै पुगेर घटना बारे जानकारी लिनुका साथै दुःखमा नआतिएर सवैजना मिलेर साहसका साथ अगाडि बढन आग्रह गरेका छन् । त्यसैगरि, महिला आयोगका टोलीले समेत सो गाउँमा पुगेर पिडीत परिवारसँग भेटघाट गरेका छन् । अयोगकी आयुक्त विद्या शिन्हा सहितको टोली लक्ष्मीपुर पुगेर पीडित बालिकाहरुको आमा र बुवा सहित परिवारजन र स्थानिय संग घटनाको विषयमा जानकारी लिनुका साथै मृतक पाँचैजना बालिकाहरुनै रहेकाले सक्दो सहयोग गर्ने बताए ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाबेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।