लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यलाई पुनर्बहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशको निरन्तरता पाउने नपाउने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा त्यसको पेशी तोकिएको छ । इजलासमा जसपाका चार प्रदेश सांसदले निरन्तरता पाउने नपाउने विषयमा सुनुवाइ हुँदैछ । सर्वाेच्चमा हुने यो सुनुवाइतर्फ लुम्बिनी प्रदेशको ध्यान केन्द्रित छ । चार सांसदको भविष्यसँग लुम्बिनी सरकारको भविष्य जोडिएकाले राजनीतिक वृत्तको ध्यान त्यसतर्फ छ ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेय र सम्झना शर्मा रायमाझीको पद रहने नरहने विषयमा आज आदेश आउँदैछ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने विषयमा जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव समूह विभाजित भएको थियो । लुम्बिनीमा जसपाका छ सांसदमध्ये चार सांसद ठाकुर पक्षका रहेका र चारैजनाले मुख्यमन्त्री पोखरेललाई समर्थन जनाएका थिए । जसले गर्दा पोखरेलको मुख्यमन्त्रीको कुर्सी जोगिएको थियो ।
जसपाका उपेन्द्र समूहले चारै जनालाई कारबाही गरेको थियो, जसका कारण चारैजनाको पद खारेजीमा परेको थियो । तर सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि चारै जनाको पुनर्बहाली भएको थियो । चारै जनाको पुनर्बहालीसँगै मुख्यमन्त्री पोखरेलको पद धरापमा पर्नबाट बचेको थियो । सर्वाेच्चले चारै जनालाई गरेको पुनर्बहालीविरुद्ध प्रदेश सभा सचिवालय र जसपाको उपेन्द्र समूहले सर्वाेच्चमा निवेदन दिएको थियो । त्यस निवेदनउपर आज सुनुवाइ हुँदैछ ।

