अपडेट 
२०७८ असार ८, मंगलवार १२:०१

अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप एक करोड ६० लाख खोप दिने भएको छ ।

विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्त्यसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी पाँच करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । जस अनुसार एसियाका १८ मुलुकलाई कोभ्याक्स मार्फत थप एक करोड ६० लाख खोप वितरण गरिने छ । यस अगाडि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो । पहिलो चरणमा गरिएको सो खोप विभिन्न मुलुकमा पुग्ने क्रममा रहेको ह्वाइट हाउसले जनाएको छ । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र यी मुलुकहरुमा पुग्ने अमेरिकाले जनाएको छ ।

अमेरिकाले खोप दिने घोषणा गरेका एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् । पहिलो चरणमा एसियाली मुलुकलाई एकदमै थोरै खोप वितरण गरेको अमेरिकाले यस पटक भने यस क्षेत्रलाई सबैभन्दा बढी विनियोजन गरेको छ ।अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको आठ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत उसले विभिन्न मुलुकलाई सिधै वितरण गर्नेछ ।

Comment


Related News