२०७८ असार ११, शुक्रबार ०७:२८

रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर बिहीबार झड्प भएको छ ।

पार्टीबाट निस्कासित भएका निवर्तमान संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा भएको मौलापुर नगरपालिकाको नगर अधिवेशनको विरोधमा उत्रेका स्थानीय र प्रहरी विच दोहोरो झडप भएको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका नगर प्रमुख रिना कुमारी साहले नगरपालिकामा अनियमितता गरेको भन्दै प्रतिपक्षमा रहेका ५ दलीय गठबन्धनले चर्को नारावाजी गर्दा झडप भएको छ । भिड नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ । नेपाली कांग्रेस ,नेकपा एमाले माधव नेपाल पक्ष , नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चा नेपालका समर्थक तथा स्थानीय तहमा निर्वाचित आधा दर्जन वडा अध्यक्षहरुले गएको आर्थिक वर्षको हिसाव किताव सार्वजनिक गर्नुपर्ने , अनियमिततामा संलग्न नगर प्रमुख माथि कार्यवाही गर्नु पर्ने लगायतका माग राख्दै नगर अधिवेशनको विरुद्धमा नारावाजी गर्दै प्रदर्शनमा उत्रेका थिए । हजारौको संख्यामा रहेका प्रदर्शनकारीहरुले मौलापुर बजारमा प्रदर्शन गरेका हुन् । विधि पुर्वक नगर सभा गर्नु पर्ने माग राख्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको जनता समाजवादी पार्टी नेपालका युवा नेता लखिन्द्र यादवले आरोप लगाए । शान्तिपूर्वक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको उनले भने सत्ता र पावरको दुरुपयोग गरेको मेयर साह भ्रस्टाचारी हुन् ।

प्रहरीले फायर गर्दा करिव १५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताउदै यादवले घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भीर रुपमा घाइते भएका केहि प्रदर्शनकारीलाई वीरगंज पठाइएको जानकारी दिए । ५ दलीय गठवन्धनले पारदर्शी रुपमा नगर सभा हुनु पर्ने माग राख्दै केहि दिन पहिला संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । नगर प्रमुख रिना साहले बुधवार विकास निर्माणको कार्यमा अवरोध पुर्याई रहेको भन्दै नेकपा माओवादी केन्द्रको झन्डा सहित प्रदर्शन गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थिति नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीको तर्फबाट १४ राउण्ड हवाई फायर र २३ राउण्ड अश्रु ग्यास प्रहार गरिएको बताए । झडपमा २ जना सुरक्षाकर्मी सामान्य घाइते भएको उनले बताए । व्यापक रुपमा प्रहरी परिचालन गरिएपछि स्थिति नियन्त्रणमा आएको छ । नगर प्रमुखको विरुद्धमा ६ जना वडाध्यक्ष, कार्यपालिका सदस्य समेत रहेका छन् । पथरा बुधराम , मर्यादपुर , सोनारनियाका स्थानीयहरू नगरप्रमुख र प्रभु साहको विरुद्धमा उभिएका छन् । बाहिर स्थानीयहरू विच झडप भइरहदा नगर प्रमुख साहले नगर अधिवेशन सम्पन्न गरेका छन् ।

Comment


Related News