धनुषाको विदेह नगरपालिका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकासको बजेटमा व्यक्तिको नीजि जग्गामा जबरजस्ती सार्वजनिक दलान बनाउने प्रयास भएको छ ।
विदेह नगरपालिका–९ जागीटोलमा नीजि जग्गामा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट सार्वजनिक दलान निर्माण गर्न लागिएको स्थानिय वीरेन्द्र सिंहले बताए । जागी टोलस्थित कित्ता नम्बर ५५मा रहेको आफनो घर तोडेर सार्वजनिक दलान बनाउन लागेको स्थानीय वीरेन्द्र सिंहले आरोप लगाए । जग्गामा मन्त्री यादवको संसदीय कोषको रकमबाट सार्वजनिक दलानका लागि १० लाख रुपैया छुट्याइएको छ । कित्ता नम्बर ५५ मा रहेको नीजि पोखरी वर्षौदेखि भोगचलन गर्दै आएपनि सार्वजनिक पोखरी रहेको भन्दै हड्पन खोजेको र आफ्नो वासस्थानलाई समेत तोडफोड गरेर दलान निर्माण गर्न लागिएको सिंहले गुनासो पोखे । कित्ता नम्बर ५५मा रहेको पोखरीको विषयमा विवाद बढ्दै जाँदा २०७३ सालमा सोही गाउँका उपेन्द्र यादव लगायतका व्यक्तिलाई विपक्षी बनाई मुद्दा समेत दिएका थिए । अदालतले पोखरी सहित कित्ता नम्बर ५५मा रहेको जग्गामा कुनै पनि निर्माण कार्य तथा तोड्न नहुने भन्दै निषेधाज्ञा समेत जारी गरेको थियो ।
तर भौतिक पूर्वाधार विकास मन्त्री यादवको संसदीय कोषको रकमबाट आफ्नै नीजि जग्गामा सार्वजनिक दलान निर्माण हुन लागेको देखेर फेरी उच्च अदालत जनकपुरलाई फेरी गुहारेका छन । अदालतले फेरी निषेधाज्ञा जारी गरेपनिन अदालतको आदेशको अपहेलना गर्दै निर्माण कार्य जारी राखिएको सिंहले आरोप लगाए ।


