२०७८ असार १३, आईतवार ०७:२१

लहान । सिरहा स्थानीय प्रशासन र जनप्रतिनिधीकै मिलेमत्तोमा सिरहाको कर्जन्हा नगरपालिकाको विभिन्न ठाउँबाट माटो उत्खनन् भईरहेको छ ।

पोखरी खन्ने नाममा कर्जन्हा नगरपालिका वार्ड नम्वर ४ र १० को विभिन्न ठाउँको माटो ठेकेदार हरुले मिर्चैया १ मा रहेको सूर्या सिमेन्ट उद्योगमा विक्रि गरेको पाइएको हो । चुरेको फेदिबाट स्काभेटरले खनेर दैनिक दर्जनौं ट्रकले पूर्वपश्चिम राजमार्गबाटै ओसार पोसार गर्दापनि जनप्रतिनिधी, स्थानीय प्रशासन र वन कर्मचारी मौन छ । कर्जन्हा नपा ४ बस्तिपुरदेखि करिव एक किलोमिटर उत्तरबाट माटो निकालेर सूर्यासिमेन्ट उद्योगसम्म पुर्याउँदा पनि आफूलाई त्यस सम्वन्धि कुनै जानकारी नभएको वडाध्यक्ष टेकबहादुर सिङ्गरले बताए । उनले भने, ‘मलाई माटो निकालेर बेचेको विषयमा कुनै जानकारी छैन, तपाईले भनेपछि जानकारी पाएँ, अव सोधखोज गर्छु ।’ चुरेसँगै जोडिएको जमिनबाट स्थानीय रामचन्द्र साहले माटो निकालेर सूर्यासीमेन्ट उद्योगलाई बेच्ने गरेको छ । उनले केही दिनअघिमात्र विष्णुवहादुर थापा क्षेत्रीसँग जमिन किनेर माटो बिक्रि गरेको स्थानीयले बताए । साहले भने आफूले पोखरी खनाउन जमिन खरिद गरेको बताए । उनले भने, ‘मैले पोखरी खनाउन जमिन लिएको थिएँ, त्यसैवेला सूर्या सिमेन्ट उद्योगमा माटो चाहिने भएकाले ठेकेदारलाई पोखरी खनिदिनेसर्तमा माटो दिएको हुँ ।’ जमिन किनेपनि लकडाउनका कारण पास नभएको बताए । कर्जनहाकै १० नम्वर वडाको दुई ठाउँबाट पोखरी खन्नेनाममा उद्योगमा माटो पुर्याई रहेको छ । स्थानीय रामएकवाल यादवले पोखरी खन्नेभन्दै माटो निकालेर उद्योगमा विक्रि गरेको हो । उनले प्रति ट्रक एक सय २५ रुयौयाँको दरले माटो बेचेको बताइएको छ ।

त्यसैगरी वार्ड नम्वर १० बाटै वन क्षेत्रको जमिनबाट माटो निकालेर उद्योगसम्म पुर्याएको छ । यसरी दैनिक दर्जनौंको संख्यामा ट्रकले ओभरलोड गरेर राजमार्गबाटै ओसार्दा पनि स्थानीय प्रहरी, ट्राफिक, जनप्रतिनिधी, वन कर्मचारी मौन छ । यसले मिलेमत्तोको आशंका रहेको स्थानीयहरुको आरोप रहँदै आएको छ । एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘सामान्य मानिसले यसरी जथाभावी माटो, बालुवा निकाल्ने हो भने यहाँ अहिलेसम्म के के भईसक्थ्यो, यहाँ त ठूलै कम्पनीका ठेकेदारहरु छन् कसैले केही गर्नै सक्दैनन् ।’ सेक्टर वन कार्यालय बन्दिपुका फोरेष्टर राम एकबाल मण्डलसँग यस विषयमा जानकारी माग्दा उनले अनभिज्ञता प्रकट गरे । उनले अहिले बाहिर भएकोले बुझेर जानकारी गराउने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश मण्डलले पालिकामा त्यस्तो माटो, गिट्टि बालुवा निकासि गर्ने कुनै उदोग दर्ता नभएको बताए । उनले भने, ‘हाम्रोमा त्यस्तो कुनै अनुमति लिएको संस्था छैन, म वडा अध्यक्षहरुसँग बुझेर के हो भनुला ।’ सिरहाको पूर्व–पश्चिम राजमार्गदेखि उत्तरीक्षेत्रमा प्रशस्त ग्राभेल, ढुङ्गागिट्टी र रातोमाटो पाइने भएकाले अहिले त्यसक्षेत्रमा जमिनकिन्नेहरु सलबलाएका छन् । गिट्टी , बालुवा र माटो बेच्नकै लागि जमिन खरिद विक्रि हुने गरेको छ ।

Comment


Related News