अपडेट 
२०७८ असार १३, आईतवार ०७:४१

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उनले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताए । रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उनले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गरे । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताए । कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उनले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उनले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताए ।

उनले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिए । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारी समिती सदस्य तथा पुर्व शिक्षा मन्त्री रेणु यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा अध्यक्ष यादवले पु¥याएको योगदान अविश्वसनीय रहेको बताइन् । पुर्व स्वास्थ्य मन्त्री यादवले रामराजा सिंह प्रतिष्ठान, नर्सिङ कलेज, ईन्जिनियरिङ्ग कलेज सप्तरीमा स्थापना गर्न योजना ल्याएको उल्लेख गर्दै, केही बर्ष पछि सप्तरीबासीले पढाई र उपचारका बाहिर जानु नपर्ने बताइन् । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्यसेवाको लागि प्रदेशबासीले बाहिर जान नपर्ने आधार बन्दै गएको बताए । मदन भण्डारी, मनमोहन, बिपिको नाममा संचालित अस्पतालमा सुबिधा दिने सरकारको बिभेदपुर्ण ब्याबहारले सप्तरी लगायतका प्रदेशबासीले १ र ३ नम्बर प्रदेशमा उपचार गर्न जानु बाध्य भएकोले प्रदेश सरकारले उपचार गर्न प्रदेश बासी बाहिर जानु नपर्ने योजना ल्याएको जानकारी दिए । मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान र गजेन्द्र बाबुको नामबाट संचालित अस्पतालमै उपचार हुने उनको भनाई थियो । प्रदेश नम्बर २ का भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गजेन्द्रनारायण सिंह सगरमाथामा अञ्चल अस्पतालको सेवा सुधारोन्मुख रहेको बताए ।

साहले स्वास्थ्य सेवालाई आधुनिकीरण गर्न स्वास्थ्यकर्मीले खेलेको भुमिकाको प्रसंशा गर्दै थप जनताप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न आग्रह गरे । कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News