अपडेट 
२०७८ असार १८, शुक्रबार ०७:१२

जनकपुरधाम ।हुलाकी राजमार्गको धनुषा र सिरहा जिल्ला जोड्ने कमलानदीको पुल विहिवार भासिएकोछ ।

पूर्व तर्फको २ नम्बरको खम्बा(पिलर) भासिएपछि पुलमा आउजाउ बन्द भएकोछ । ठेकदार कम्पनी पप्पु कन्सट्रक्सनले निर्माण कार्य पुरागरि उद्घाटन गराउने तयारीमा रहेको बेला पुल भासिएकोछ ।पुलको स्पान झण्डै एक मिटर तल भासिएकोछ ।त्यसकारण माथिको स्लाबपनि भासिएकोछ । कमला नदीमा जलस्तर बढेपनि पुल नै भत्किने बाढी नआएको स्थानीयहरुको कथन छ ।‘नदीको जलस्तर केहि बढेकोछ ’सिरहा नगरपालिकाका महेश यादवले भने, पुलको निर्माण नै कमजोर रहे जस्तो छ ।समान्य बाढीलाई समेत थेग्न नसक्ने पुल सञ्चालनमा आइसकेको भए ठूलै दूर्घटना हुन सक्ने उनले चिन्ता व्यक्त गरे । समान्यतया पुल निर्माणका लागि पिलरको गहिराइ २० मिटर सम्म हुनुपर्छ ।तर पप्पु कन्सट्रक्सनले बनाएको पुलको पिलरको गहिराई १४ मिटर मात्र रहेको छ ।निर्माण र डिजाइनमै समस्या देखिएको प्राबिधिकहरु बताउँछन् । हुलाकी राजमार्ग आयोजनाका पुल इन्जिनियर जयनाथ यादवले पुलको पिलर करिब एक मिटर तल धसेको बताए ।‘पुलको डिजाइन नै फेल भएको जस्तो देखिन्छ’ उनले भने, पिलर भासिनुको यकिन कारण विशेषज्ञहरुले पत्ता लगाउने छन् । पुल निर्माणका लागि सम्झौता भएको १० वर्षपछि निर्माण पुरा भएको थियो ।

२०६८ साल जेठ ३१ गते निर्माण सम्झौतामा २०७१ साल मंसिर ३० गते निर्माण कार्य पुरा हुने उल्लेख थियो ।तर सम्झौता भएको एक दशकपछि निर्माण पुरा भएको पुल भासिएपछि त्यसको गुणस्तरको परीक्षण गर्न आवश्यक भएकोछ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पुलको गुणस्तरको परीक्षण गरी ठेकदार कम्पनीलाई कार्वाहीको प्रकृया अगाडी बढाउन गृह मन्त्रालयमा पत्राचार गरिएको बताए । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका २ बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाण्डुले २४ करोड ६२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सिरहा र सप्तरी जिल्ला जोड्ने बलान नदीको पुलमा समेत भारवहन परीक्षण गर्नुपर्ने कणेलले बताए ।सो पुलको निर्माण पुरा भै ठेकदार कम्पनी अन्तिम चरणको भुक्तानी लिने तयारीमा रहेकोछ ।कमला नदीको पुल सञ्चालनमा आएसँगै जनकपुरधाम र सिरहाको दुरी ३५ किलोमिटर मात्र हुनेछ ।हाल पूर्वपश्चिम राजमार्गबाट जानुपर्ने बाध्यता रहेकोछ ।

Comment


Related News

Latest News

Trending News