झण्डै १० वर्ष अघिको एउटा दृश्य झलझली स्मरण आयो । कमला नदीको किनारको सम्बभत ः बरेरवा घाट । नदीको पश्चिम भागमा ठुलै पण्डाल लगाइएको । ठुलो तथा आकर्षक मञ्चमा भौतिक पुर्वाधार मन्त्री हृदयेश त्रिपाठी बसेका थिए । उनिसंगै थिए– बृषेशचन्द्र लाल, रामचन्द्र झा,परमेश्वर साह, विशेश्वर यादवसहित सबै पार्टीका केन्द्रियदेखि जिल्लास्तरका दर्जनौं नेताहरु । कमला किनारमा आयोजित कमला पूल शिलान्यास समारोहमा जलपानसंगै मिनिरल वाटरको पनि व्यवस्था थियो । धुलाम्मै बाटोमा गाडी, मोटरसाईकल,साइकल र टायर गाडाको रेलमपेल थियो । मन्त्री र नेताहरुका लागी शिलान्यास, उद्घाटन सामान्य कुरा भएपनि स्थानीयवासीका लागी भने यो ठुलै उत्सव हुन्थ । सबैको मुखमुद्रामा खुसीको रेखा प्रष्टै देख्न सकिन्थ्यिो । आम मानिसको मुखमुद्रामा खुसी भने कहिले कांहीमात्र देख्न सकिन्छ । आमजनको अनुहारमा देखिएको त्यो खुसी भने निश्छल थियो । अवोध थियो ।
उनिहरुको जीवनमा आमूल परिवर्तन आउने घटना जो घटित हुन गई रहेको थियो । पुस्तौदेखि आधा घन्टाको बाटो तीन घन्टामा पूरा गर्न अभिसप्त कमला किनारका आमजन खुसी नहुने कुरै भएन । जय कमला मैया…..हमरासबके मनोरथ पूरा कराऊ …सबका सब यही भन्दै थिए । अर्को दृश्य गत वर्ष मंसिर तिरको हो । कृषि मन्त्री थिए – घनश्याम भुषाल । तत्कालीन नेकपाभित्र युवा पुस्ताका वैचारिक नेता । कमला नगरपालिकाकै स्थायीवासी पूर्वमन्त्री रामचन्द्र झाको पहलमा उनि कमला किनारको नदी उकास जग्गाको स्थलग निरीक्षण गर्न त्यहा पुगेका थिए । पटक पटक आफ्नो धार परिवर्तन गर्ने कमला नदीको वरिपरि हजारौं विगहा पानी उकास जग्गा छ । जसको कुनै प्रयोग छैन । न खेती हुन्छ न त पशुपालनको लागी घासकै उत्पादन । झा वर्षौदेखि यस नदी उकास जग्गालाई सदुपयोग गरी यस क्षेत्रलाई दूध र माछाको हव बनाउने योजना बुन्दै आएका छन् । कृषि मन्त्री भुषालको सहयोगमा यस योजनालाई मूर्तरुप दिन उनले अनेकौ प्रयास गरे तर मुलुकमा विद्यमान राजनीतिक गतिरोधको कारण अझै पनि यो योजना मूर्तरुप लिन सकेको छैन । मन्त्री भुषालको स्वागतमा कमला किनारमा आयोजित सभाका सहभागी आमनागरिकमा म दोश्रो पटक खुसीको रेखा देखेको थिए । उनिहरुको सामुहिक उद्घोष थियो – कमला मैया के कृपासं पूलो बैन रहल है आ आब नदी उकास जमीनमे सेहो उब्जा होतै …… असार पहिलो साता कमलावासी एक पटक फेरी खुसी हुने मौका पाएका थिए ।
उनिहरुको खुसीको कारण थियो– पटके मन्त्री उमाशंकर अरगरियाको भ्रमण । यसै क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने अरगरिया क्षेत्रवासीका लागी कुनै योजना वा आयोजनाको घोषणा गरेनन् अपितु कमला पूल निर्माता ठेकेदारलाई च्यावासी दिए । उनको पक्षमा हर्ष बधाई गरे अनि फोकटमा घोषणा गरे – कमला पूलको उद्घाटन असार महिनाभित्रै हुन्छ । निष्कपट,सोझा आमजन खुसी हुने नै भए । सबैले ताली बजाए – हे कमला मैया , मनोरथ पूरा गरु तर वुधवारदेखि भने कमला किनारकावासीहरुको मुखमुद्रा मलिन छ । झण्डै दश वर्षको प्रतिक्षा पछि उद्घाटन हुनै लागेको कमला पूल सामान्य बाढीमा क्षतिग्रस्त भएपछि उनिहरुको मुखमुद्रा मलिन भएको हो । कमला पूलका ठेकेदार को हुन वा थिए ? उनीहरुलाई मतलव छैन । काम गुणस्तरीय भयो कि गुणस्तरहीन ? उनिहरुले बुझ्ने विषय नै भएन । उनिहरुको चासोको विषय एउटै हो – पूल छिटो भन्दा छिटो बनोस् अनि घन्टौ लगाएर अव सिरहा जान नपरोस । तर दुर्भाग्य उद्घाटन हुनै लागेको पूलको पिलर भासिएको छ । अब कहिले मर्मत होला र आधा घन्टामा सिरहा जान पाउला भने पिर उनिहरुलाई थपिएको छ । १० वर्ष अघि पूलको शिलान्यास भई रहदा रामचन्द्र झाले मञ्चबाटै भनेका थिए – पूलको डिजाईन र इस्टीमेटमा दोष छ । उनको तर्क थियो–बरेडवा घाट भन्दा झण्डै ३५ किलोमिटर माथि बन्दीपुरमा निर्मित कमला पूलको लम्बाई ७ सय मिटर छ अनि बडेरवा घाटमा निर्माण हुन लागेको पुलको लम्बाई साढे चार सय मिटर ? जवबि यस बिचमा कमलामा चारनाथ,घुर्मी र बतहा लगायतका नदी पनि मिसिएका छन् । खेतको पानी पनि मिसिन्छन् । अर्थात् नदीको चौडाई थपिएको छ अनि पूलको लम्बाई घटाइएको छ ।
जे होस, पूल भासिएको छ । स्थानीयवासीले दोषीमाथि कार्यवाहीको मांग गरेका छन् तर राजनीतिक छत्रछायाप्राप्त ठेकेदार, ईन्जिनियर,डिविजनल ईन्जिनियर तथा सरोकारवाला अन्य व्यक्ति तथा निकायप्रमुखमाथि कार्यवाही होला भने कसैलाई विश्वास छैन । एक शब्दमा भनौं भने कमला किनारवासीको आधा घन्टामा सिरहा पुग्ने सपना पूरा हुन अझै केही समय लाग्ने भएको छ । अचेल कमलाकिनारवासी कमलालाई गोहराउदैनन् , मुरलीधरको गीत गाउन मन पराउ“छन् – उडायो सपना सबै हुरीले ……


