२०७८ असार २०, आईतवार ०८:००

मलगंवा । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जलसतह घट्न थालेको छ । शनिबार बिहान भारी वर्षा हुँदा बागमती नदीमा जलसतहले खतराको तह पार गरेको थियो । बागमतीस्थित पधेरादोभान जलमापन केन्द्रमा शनिबार दिउँसो १२:३० बजे गरिएको मापन अनुसार बागमतीको जलसतह सतर्कता तह आसपास रहेको थियो । बागमतीमा पानीको गहिराई छ मिटरको आसपास पुगे सतर्कताको तह मानिन्छ । शनिबार बिहान १० बजेको मापनमा बागमती नदीको पानीको सतक ६.८ मिटर पुगेर खतराको तह पार गरेको थियो । पानी पर्नेक्रम कम भएसँगै नदीमा पानीको सतह घट्दै गएको बागमतीस्थित ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक प्रविण भट्टराईले बताए ।

बागमतीमा शनिबार यस वर्षकै सबै भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । अहिले बागमती ड्यामका सबै ढोकाहरु खोलिएका छन् । बागमतीमा पानीको सतह बढ्दा सर्लाही र रौतहटको तल्लो भेगका बस्ती डुबानमा पर्ने गरेका छन् । सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले अहिलेसम्म जिल्लामा बागमती लगायत अन्य खोलाले क्षति गरेको जानकारी नआएको बताए । वर्षाको पानीले विभिन्न ठाउँमा फुसले छाएका कच्चीहरु भत्किएका खबर आइरहेपनि मानवीय क्षति भने कतै पनि नभएको निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मङ्गलबार रातीदेखिको वर्षाले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय र केही निजी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जिल्लाभरबाट बाढी तथा डुबानबाट भएको क्षतिको विवरण लिने काम भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News