२०७८ असार २४, बिहीबार ०७:४२

लालबन्दी । सर्लाही जिल्लामा हालसम्म ३५ प्रतिशत रोपाइँ सकिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार जिल्लाभर असार तेस्रो साता भएको भारी वर्षापछि तीव्र रुपमा रोपाइँ भइरहेको छ । जिल्लामा एक साता अघिसम्म ५ प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको थियो । पर्याप्त आकाशे वर्षा भएपछि एक साताको अवधीमै ३५ प्रतिशतको हाराहारीमा रोपाइँ भइसकेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिए । अहिले जिल्लाभर नै तीव्र रुपमा रोपाइँ भइरहेको उनले बताए । मकै बाली नलगाई बेलैमा धान रोप्ने गरी बीउ राखिएको खेतमा अहिले रोपाइँको चटारो रहेको किसानहरुले बताएका छन् । मकै रोपिएको खेतमा भने साउन अन्तिम तिर वा भदौ पहिलो हप्ता मकै भित्र्याएपछि मात्रै रोपाइँ हुने किसानहरुले बताएका छन् । पछिल्ला वर्षहरुमा भुक्तानि लिन झेल्नु पर्ने झन्झटका कारण उखु खेती मासेर धान रोप्ने क्रम बढेको छ । कतिपय स्थानमा भने धान खेती हुने जग्गामा तुरुन्त र बढी आयआर्जन गर्ने उद्देश्यले किसानहरुले तरकारी खेती गर्न थालेका कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले बताए ।

सर्लाहीमा बागमती, बरहथवा, बसबरिया, धनकौल, कविलासी लगायत पश्चिमी भेगमा बागमती सिँचाई आयोजनाको नहरमार्फत सिँचाई गरेर धान रोप्ने गरेको छ । अन्य क्षेत्रमा भने आकाशे वर्षा र पम्पीसेट चलाएर रोपाइँ हुने गरेको छ । सर्लाहीमा ४३ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र, मलङ् गवाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News