सर्लाहीको हरिवन नगरपालिकामा बिहीबार गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ ।
नापी कार्यालय, मलङ् गवाले वर्षौदेखि गाउँ ब्लकमा पर्ने जग्गामा बसोवास एवं भोगचलन गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरेको हो । हरिवन नगरपालिकाको वडा नं. ५, ७ र १० मा आठ बिग्हा एक कठ्ठा तीन धुर जग्गा पर्ने १८९ कित्तामध्ये २०७१ सालमा नाप नक्सा गर्ने क्रममा दर्ता गरिएको १०९ कित्ताको लालपूर्जा वितरण गरिएको नापी कार्यालय, मलङ् गवाका नापी अधिकृत सविन विकले जानकारी दिए । उनले नापी नभएको ८० कित्ताको लालपूर्जा वितरण हुन नसकेको बताए । बर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएकाहरु लालपूर्जा पाएपछि खुसी भएका छन् । पूर्जा नहुँदा स्थानीयलाई बैङ्कबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न र अंशबण्डा गर्न समस्या हुँदै आएको थियो । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा लालपूर्जा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।


