अपडेट 
२०७८ असार २५, शुक्रबार ०९:२९

यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् ।

यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान गरेका हुन् । मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनु भयो । उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । तर यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ । विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम रहेको उहाँको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बिहीबार देशभर पूर्ण बदली रही धेरै स्थानमा ठूलो वर्षा भएको छ । विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको महाशाखाका अनुसार अझै केही दिन देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिदेखि बिहीबारसम्मको वर्षाले देशका ठूला, मझौला र साना नदीहरूको बहाव उच्च भएको छ । शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको खतरा कायमै रहेको जनाइएको छ । शनिबार पनि यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने भएको छ ।

बिहीबारदेखि कोसी नदी र सहायक नदी सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर नदीको जल बहाव बढ्दो छ । त्यस्तै नारायणी नदी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीलगायतका नदीहरूको बहाव उच्च बनेर सतर्कता तह पार गर्नसक्ने खतरा बढेको कारण नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News