श्रम गरेको भुक्तानी नदिएको भन्दै जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय रौतहटमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका छन् ।
कार्यालयले ठेक्का दिएका योजनाहरुको भुक्तानी नदिदा निर्माण व्यवसायी मर्कामा परेको भन्दै निर्माण व्यवसायी संघ रौतहटले शुक्रबार कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष दयाराम साहले बताए । सम्पन्न भएका योजनाहरुको भुक्तानीको लागी कार्यालय प्रमुखले वेवास्ता गरेको उनको आरोप छ । जिल्लामा सिचाई योजनाका काम कार्यालयको निर्देशन अनुसार नै आफूहरुले गरेकोमा भुक्तानीको बेला सो रकमलाई अन्य शीर्षकमा रकमान्तर गरेर कार्यालय प्रमुख सुमन झाले उपभोक्ता समितिहरुलाई रकम बाडेको आरोप निर्माण व्यवसायीहरुको रहेको छ ।
नेताहरुको आदेशमा कार्यालय प्रमुख झाले कामै नगरेका उपभोक्ता समितिहरुलाई रकम भुक्तानी दिएको निर्माण व्यवसायी अरबिन्द जयसवालले बताए ।आफुहरुको रकम भुक्तानकिा लागी प्रदेश सरकारले समेत कुनै चासो नदेखाएको उनको आरोप छ । यता भुक्तानीको लागी आफूले प्रदेश सरकारलाई समेत अनुरोध गरेकोमा योजनाहरुको भुक्तानी हुन नसकेको जलश्रोत तथा सिचाई डिभिजन कार्यालय रौतहटका प्रमुख सुमन झाले बताए । प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत भएको कामहरुको भुक्तानी दिए पछि निर्माण व्यवसायीले लगाएको आरोप सत्य नभएको उनको दाबी छ ।


