मलगंवा । लकडाउन अवधिमा सुस्ताएको अवैध लागूऔषध तस्करी फेरी मौलाएको छ ।
पछिल्लो समय सर्लाही जिल्ला अन्तर्गतको नेपाल–भारत सिमानाका लागूऔषध ओसारपसारको लागि ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । प्रहरीले कडाइका साथ निगरानी बढाएपछि जिल्लाको पुर्व–पश्चिम राजमार्ग तथा नेपाल– भारत सीमा क्षेत्रबाट धमाधम लागूऔषध कारोबारीहरू पक्राउ पर्न थालेका छन् । एक महिनामा दर्जनौं तस्करहरु लागूऔषधसहित पक्राउ परेका छन् । नेपालबाट गाँजा भारत तर्फ लैजाने तस्करहरु फर्किंदा डाइजापाम, टेन्टेक्स, फेन्सिडिल, कोडेक्स लगायतका प्रतिवन्धित लागूऔषध ल्याउने गरेका छन् । सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा सर्लाहीको बागमती र लखन्देही नदीको बाटो प्रयोग गरेर गाँजा तस्कर हरुले भारतीय बजारमा पुर्याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महँगोमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएका छन् । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताए । गोप्य सूचनाको आधारमा तस्करलाई जिल्लाको लालबन्दी, हरिवन र बागमती क्षेत्रबाट पक्राउ गरिएको हो ।
गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल–भारत सीमानाकाहरुमा कडाइका साथ निगरानी र चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भारतको सोनवर्षा,भुतही, सितामढीबाट ल्याएका लागुऔषधहरु नेपाल भारत बोर्डर हनुमान चौक (रमनगरा), कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय ब्यक्तिहरु सँग कन्ट्याक्ट् मिलाएर उनिहरुको घरमा लुकाएर राख्ने र पछि बिस्तारै विस्तारै सुरक्षाकर्मीहरुको आँखा छलेर मलंगवा , भेल्ही ,भाँडसर ,पर्सा,नारायणपुर संग्रापुर हुँदै नेपाल भित्राउने गरेको श्रोतले जानकारी दिएको छ । नेपाल –भारत सिमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्करहरु दिनहुँजसो जमघट हुने गरेका छन् ।


