लालबन्दी । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमबार सर्लाहीका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको अध्यक्ष समेत रहेका ओलीको समर्थनमा उनी निकट पार्टीका नेता कार्यकर्ताहरुले जिल्लाको लालबन्दी, हरिवन, बरहथवा र सदरमुकाम मलंगवामा एकसाथ प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीको समर्थन र विपक्षी गठवन्धनले चालेका कदमहरुको विरोधमा प्रदर्शन गरिएको ओली निकट एमाले नेताहरुले बताएका छन् । लालबन्दीमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनमा एमाले ओली समूहका जिल्ला अध्यक्ष राजनारायण साह, पार्टीका पूर्व जिल्ला अध्यक्ष एवं ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटालगायत सहभागीता रहेको खेलकुद महासंघका केन्द्रीय सचिव प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए । यस्तै, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा हरिवनमा भएको प्रदर्शनमा किसान संघका केन्द्रीय महासचिव राजकुमार उप्रेती, भूमि सम्वन्धी समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादव लगायत सहभागी भएको थियो । प्रधानमन्त्री ओलीको समर्थनमा सदरमुकाम मलंगवामा मोटरसाइकल ¥याली निकालिएको थियो । अनेरास्ववियूका जिल्ला संयोजक समिमबाबु खानको नेतृत्वमा मोटरसाइकल ¥याली निकालिएको हो । यसैगरी, ओली निकट जिल्ला कमिटीको आयोजनामा बरहथवामा भएको कार्यक्रममा सो समूहका जिल्ला सचिव केदार खत्री, पूर्व सांसद हरि उप्रेती लगायतको उपस्थिति थियो ।



