अपडेट 
२०७८ असार २९, मंगलवार ०७:३६

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँको भनाइ छ । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि हालसम्म एउटा जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अमिल्दो भएका कारण फर्काइएको जानकारी बोर्डले दिएको छ ।

विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजा जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने समयसीमा भने सकिएको छ । बोर्डले असार २० भित्र एकाइमा आफ्नो विवरण बुझाउने समयसीमा दिएको थियो । हाल समन्वय एकाइमा विद्यालयबाट प्राप्त विद्यार्थीको विवरण रुजु गर्ने काम चलिरहेको छ । बोर्डको आन्तरिक तयारी हेर्दा एसईई दिएका विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुन भदौ लाग्ने भएको छ । साउन मसान्तसम्म परीक्षाफल प्रकाशन गर्नका लागि समय लाग्ने अवस्थामा भदौबाट मात्र कक्षा सञ्चालन हुने देखिएको हो । यसअघि बोर्डले भदौ १५ बाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News