अपडेट 
२०७८ असार ३०, बुधबार ०७:१५

पशुपालनलाई अनौपचारिक अर्थव्यवहारकारको रुपमा अहिले पनि ग्रामीण समाजमा लिने गरिएको पाइन्छ । यदि ग्रामीण अर्थतन्त्रतिर ध्यान दिने हो भने अहिलेसम्म नब्बे प्रतिशतभन्दा बढी ग्रामीणको घरमा कुनै न कुनै पशुको पालन गरिएको पाइन्छ । फेरि नब्बे प्रतिशतलाई शतप्रतिशतमा ढालेर हेर्ने हो भने सयमा पाँच ग्रामीण किसान जो परम्परागत तरिकाले पशुपालन गरिरहेका छन्, पशुपालकले पनि पशुपालनलाई पूर्ण व्यावसायिक बनाएको पाइन्न । परम्परागत ग्रामीण पशुपालन पूर्ण व्यावसायिक हुन नसक्नुका पछाडि कृषि र पशुपालनको अन्योन्याश्रित सम्बन्ध हुनुले नै हो किनभने हाम्रो कृषि प्रणाली अहिलेसम्म परम्परागत रहेको छ । पूर्ण व्यावसायिक हुन सकेको छैन र आधुनिक कृषि यन्त्रको प्रयोग गरेर पनि हाम्रो कृषि हुन सकेको छैन । हामीकहाँ कृषिमा आधुनिक मेसिन वा उपकरणको प्रयोग अझै पनि धेरै हुन सकेको छैन । विस्तारै बढ्दो भने अवश्य छ । अहिलेसम्मको अवस्थामा परम्परागत कृषि प्रणालीमध्ये दुई कुरालाई आधुनिक मेसिनले पूर्णतया विस्थापित गरेको देखिन्छ ।

धान वा गहुँ काटिसकेपछि दाइँ गर्ने परम्परागत प्रवृत्ति पूर्णतया हराइसकेको छ । पहिले खेतबाट धान वा गहुँ खरिहानमा ल्याएर पाँचदेखि दशवटा गोरु नारेर दाईँ गरिन्थ्यो । तर अहिले भने झन्डै शतप्रतिशत दाइँ मेसिनबाटै हुन थालेको छ । दाइँ (दौनी)मा आएको प्राविधिक परिवर्तनले अब ग्रामीण क्षेत्रमा पनि खरिहान देख्न लगभग छोडिइसकेको छ र खरिहानमा हुने धानको पुजौल पनि करिब करिब लोप नै भइसकेको छ । अर्को हो धान वा गहुँको बोझा ढुवानी । पहिले मानिसले धानको बोझा टाउकोमा धेरै टाढाको खेतबाट ओसारेर खरिहानमा ल्याउँथे । अब यसको ठाउँमा साधनको प्रयोग हुन थालेको छ । एकाध कट्ठा खेतबाट मुस्किलले टाउकोमा धान वा गहुँको बोझा ओसार्छन् सर्वसाधारण, हैनभने टायरगाडा वा टेक्टरमा ओसार्ने चलन बढेको छ र अझ सम्भव भए खेतैमा दाइँ गर्ने र धान वा गहुँ एकैचोटि घर ल्याउने चलनको विस्तार भएको छ । यो विस्तार मसुरो र अन्य रबि बालीमा पनि हुँदै गएको सशक्त ग्रामीण यथार्थ हो । अब खेतको जोताइमा पनि यन्त्रको उपयोग बढेको छ र यो बढ्दै गएको पनि छ । यसै गरी धानको रोपाईँमा पनि मेसिनको प्रयोग बढ्दै गइरहेको छ तर अझै पनि रोपाईँको काम भने मानिसबाटै भइरहेको छ । अझ रोपाईँमा पुरुषभन्दा महिलाको भूमिका बढी रहेको देखिन्छ । पहिलेको तुलनामा कृषिमा महिलाको योगदान बढ्दै गएको छ । रोपाईँमा अझै पनि अपेक्षित रुपमा मेसिनको प्रयोग बढ्न नसके पनि धान वा गहुँको कटाइमा भने मेसिनको प्रयोग बढ्न थालेको छ । रोपाईँभन्दा कटाइमा केही बढी मेसिनको प्रयोग अवश्य हुन्छ तर अझै पनि कटाइको काम भने मानिसबाटै बढी मात्रामा भइरहेको छ ।

यसरी कृषिमा मेसिनको प्रयोग अलि अलि गरेर हरेक वर्ष बढिरहेको भने यथार्थ हो तर कृषकको जीवनसित पशुपालनको सम्बन्ध अनन्त रहेको छ । बाख्रा, गाई, भैंसी र गोरु ग्रामीण किसानहरुले गर्ने परम्परागत पशुपालन हो । यससँगै कतिपयले भेडा, हाँस, कुखुरा, परेवा आदि पनि पालेका हुन्छन् । हाँस, कुखुरा तथा परेवा त पशु होइनन्, पक्षी हुन् । भेडापालन तराई मधेसको जनजीवनमा ज्यादै कम भएको देखिन्छ । हाँस र कुखुराको व्यावसायिक पालन पनि भइरहेको छ । पशुपालनमध्ये बाख्रा, गाई र भैंसीको पनि व्यावसायिक पालन सुरु भइसकेको छ । व्यावसायिक गोरुपालन हुँदैन तर तराई मधेसको हरेक जसो जिल्लामा एक दुई ओटा ठूला गोरुबजारहरु अवश्य रहेका छन् । कतिपय ठाउँमा व्यावसायिक रुपमा पाडापालन भने गरेको देखिन्छ । यद्यपि परम्परागत तरिकाले बाख्रा, गाई र भैंसीलाई पाल्ने किसानहरुले भने अहिले पर्याप्त मात्रामा आम्दानी गर्न थालेका छन् । बाख्रा, गाई र भैंसी पाल्ने तर यसैमा पूर्णतया निर्भर नरही अन्य कृषिकर्मलाई मुख्य व्यवसायको रुपमा मान्ने यस्ता धेरै किसान छन् जो बाख्रा, गाई र भैसीलाई पालेर आफ्नो अर्थतन्त्रलाई बलियो बनाइरहेका छन् र नगदमा गर्नुपर्ने धेरै कामको लागि कुनै जिन्सी सामान बेच्नु परिरहेको छैन । गाउँघरमा एउटा उखान प्रचलित छ जसको भावार्थ के छ भने बाख्रापालन गर्नुको अर्थ हो हातमा नगद राख्नु । हुन पनि हो, बाख्रालाई बेच्न मन भएकै दिन बेच्न सकिन्छ । बूढी बाख्री, पाठी, खसी वा बोको जे पनि सजिलै बिक्री हुन्छ, त्यो पनि आजको आजै ।

बिक्रीबाट नगद पैसा आउँछ । उधारो कसैले दिँदैन वा लिँदैन । यसै कारण ग्रामीण निम्न वर्गको झन्डै हरेकको घरमा दुई चार ओटा बाख्रा हुन्छ र हरेक वर्ष बाख्राबाट आउने खसी र बोका बेचेर ग्रामीण किसानले आफ्नो गर्जो टारेको हुन्छ । यसै गरी कुनै चाडपर्व वा अन्य घरायसी पारिवारिक विशेष कामका लागि भनेर नै कपितय परिवारले बाख्रा वा खसी पालेर राखेका हुन्छन् र उपयुक्त समय आएपछि बिक्री गरी कार्य सम्पन्न गर्दछन् । बाख्रा पालेर नै कपितय परिवारले सानातिना महत्वपूर्ण कार्य गरेका छन् । सबैलाई सबैभन्दा बढी स्वादिलो मासु खसीकै लाग्ने हुनाले र आजभोलि हरेक हाटबजार तथा होटलमा खसीको मासुको बिक्री बढेको हुनाले खसीको मासु सधैँ बेच्नेले कुन गाउँमा कहाँ र कोसित खसी छ भन्ने कुरो पनि पत्ता लगाइरहेका हुन्छन् र आवश्यकता पर्नासाथ दुई पैसा बढी मूल्य तिरेर पनि किन्दछन् । वास्तवमा बाख्रापालन ग्रामीण अर्थतन्त्रमा अतिविपन्नदेखि मध्यम वर्गसम्मको आर्थिक अवलम्बन पनि बन्न पुगेको छ । गाई र भैंसीपालनले पनि ग्रामीण किसानको आर्थिक जीवनमा ठूलो प्रभाव पारेको देखिन्छ । कतैबाट धेर थोर ऋण लिएर पनि सर्वसाधारण ग्रामीण किसानले गाई र भैसी पालेको देखिन्छ । अहिले पनि गाईको दूधको ठूलो माग रहेको छ । सामान्यतया गाउँमा नै गाईको दूधको खपत रहेको छ । गाउँबाट सहरतिर पनि गाईको दूध पु¥याउनेहरु रहेका छन् । गाईको दूध, दही, घीउ आदि सबैलाई एकातिर धार्मिक दृष्टिकोणले पवित्र मानिन्छ भने अर्कोतिर स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त मानिन्छ ।

यसले गर्दा अहिलेसम्म यसको माग उच्च रहेको छ र माग उच्च भएको कारणले गाई पाल्ने किसानले पर्याप्त आय गरिरहेका हुन्छन् । यसै गरी भैसी पाल्ने पनि दूध र दही बेचेर पर्याप्त आम्दानी गरिरहेका हुन्छन् । अहिले गाउँसम्मै गाई तथा भैसीको दूध किन्न डेरीको गाडी पुगिरहेको हुन्छ । अलिकति बढी दूध पाउने गाउँमा त दूध संकलन केन्द्र नै डेरीहरुले स्थापना गरिदिएको पनि पाइन्छ । यसबाट किसानलाई पनि फाइदा भएको छ भने डेरीलाई पनि फाइदा भएको छ । किसानहरुले आफ्नो घरमा खपत हुने जति दूध राखेर बाँकी दूध डेरीमा पु¥याउँछन् र यति नै पु¥याउनु पर्छ भन्ने बाध्यता नरहेको कारण किसानहरुले कमी वा बढी दूध पु¥याउँदा त्यसै अनुसार रकम प्राप्त गर्ने गर्दछन् । यो नगदले ग्रामीण किसानलाई फेरि पनि कृषिमा नै धेरै सहयोग गरिरहेको हुन्छ । उदाहरणको लागि खेती गर्दा आवश्यक मल, बीउ तथा विषाधि किन्न जुन नगद चाहिएको हुन्छ, यस्तै नगदले सहयोग गरेको हुन्छ । यदि विस्तृत अर्थमा हेर्ने हो भने अनौपचारिक किसिमले ग्रामीण किसानले गरेको पशुपालनले देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । विस्तारै हाम्रो देश मासुमा आत्मनिर्भर बन्ने दिशामा अग्रसर हुनुमा हाम्रो देशमा औपचारिक रुपमा गरिएको पशुपालनले भन्दा पनि अनौपचारिक रुपमा नै गरिएको ग्रामीण पशुपालनको ठूलो भूमिका रहेको छ ।

साँच्चै गाउँमा जसरी अधिकांश किसानको घरमा दुई चार वटा बाख्रा हुन्छ, त्यसले गर्दा गाउँलाई मासुमा आत्मनिर्भर बनाएको छ । एक वर्षमा गाउँमा बाहिरबाट जति मासु जान्छ, त्यसको तुलनामा कैयौँ गुणा बढी मासु उत्पादन हुने खसी गाउँबाट बाहिर गएको हुन्छ । यसै गरी गाउँमै उत्पादन भएको खसीको मासु गाउँमै खपत पनि हुने गरेको छ । गाउँमै खसी वा पाठीको मासु बिक्री गर्दा अब सामान्यतया नगद नै लेनदेन गर्ने प्रवृत्तिको विकास भएको छ । यसले गर्दा ग्रामीण अर्थतन्त्रमा पनि नगद चलायमान बनेको छ । यसरी ग्रामीण अर्थतन्त्रमा परम्परागत पशुपालनले निकै महत्व भूमिका निर्वाह गरेको छ । परम्परागत पशुपालन ग्रामीण अर्थतन्त्रको एउटा आधार हो ।

Comment


Related News

Latest News

Trending News