गरुडा (रौतहट) । रौतहटका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्चालन भइरहेको पाइएको छ ।
१६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तह रहेको रौतहटमा अधिकांश स्थानीय तहले भाडाको घरबाट नै दैनिक प्रशासनिक काम सञ्चालन गर्दै आएका छन । स्थानीय सरकार गठन भएको झण्डै पाँच वर्ष पुग्नलाग्दा समेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्षेणी करोडौ रकम भाडामै खर्च हुने गरेको छ ।जिल्लाको माधवनारायण, गढिमाई, गरुडा, देवाही गोनाही, फतुवा विजयपुर, इशनाथ लगाएतका नगरपालिकाको आफनै भवन नहुँदा भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । आफ्नै प्रशासकीय भवन नहुँदा माधवनारायण नगरपालिकाले १६ वटा कोठा भाडामा लिएको छ । स्थानीय सरकार गठन भएदेखी नै नगरपालिकाले भाडाकै घरबाट कार्यसम्पादन गर्दै आएको छ । १६ वटा कोठाको मासिक भाडा ७० हजार र वार्षिक ८ लाख ४० हजार रुपैया बुझाउँदै आएको माधवनारायण नगर प्रमुख विरेन्द्र यादवले बताए । जग्गा नहुँदा भवन बनाउन नसकिएको बताउँदै नगरप्रमुख यादवले जग्गाको टुङ्गो लाग्ने वित्तिकै भवन निर्माण कार्य अगाडि बढने जानकारी दिए । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि आफना कार्यसम्पादन गर्न १८ वटा कोठा भाडामा लिएको छ ।
भाडा वापत मासिक करिव ८० हजार रुपैया तिर्ने गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताए । देवाही गोनाही नगरपालिकाले अहिले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको भएपनि आफना प्रशासनीक भवन पनि धमाधम बनाइरहेको दाबी गरेको छ । नगरपालिका कार्यालयको पर्याप्त कोठा सहितको सुविधा सम्पन्न दुईतल्ले भवन निर्माण कार्य धमाधम भइरहेको र आउँदो असोजसम्म निर्माण कार्य सकिने नगर प्रमुख पटेलले बताए । गत एक वर्षदेखी सो भवन बनिरहेको र आउँदो असोजमा निर्माण कार्य पुरा भएपछि असोजदेखी नै आफनै भवनबाट सेवा प्रवाह गर्ने योजना रहेको मेयर पटेलले बताए । गढिमाई नगरपालिका पनि आफनो भवन धमाधम निर्माण गरिरहेको छ । नगरपालिकाकै करोडौंको लगानीमा निर्माण भइरहेको प्रशासनीक तथा विषयगत भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको नगर प्रमुख श्याम प्रसाद यादवले बताए । अबको एक दुई महिनामै भवनको निर्माण कार्य सकिने छ । असोजदेखी आफनै भवनबाट सेवा प्रवाह गर्ने योजना रहेको नगर प्रमुख यादवले बताए । कटहरिया नगरपालिकाले वडा नं. ५ कटहरियामा एक स्थानीयवासीको घर भाडामा लिएर दुई वर्षभन्दा बढी समयसम्म कार्यसम्पादन गर्दै आएका थियो । पछि सोही वडाको एक सरकारी भवनबाट नै नगरपालिकाले कार्यसम्पादन गर्दै आएको छ । शुरु शुरुमा उक्त भवनबाट सेवा दिदा पर्याप्त कोठाको अभावमा कार्यसम्पादमा समस्या हुँदै आएको थियो तर पछि केही कोठा थपिएपछि अब कार्यसम्पादन गर्न कुनै समस्या नरहेको कटहरिया नगर प्रमुख शियाराम कुश्वाहाले बताए ।
जिल्लाका केही स्थानीय तहले आफनै भवन बनाउन शुरु गरेको छ भने केही स्थानीय तहले भवन बनाउने योजनामा रहेको छ तर गरुडा, माधवनारायण लगाएतका स्थानीय तहले कहिले भवन बनाउँछ भने कुनै छाकटाँक देखिएको छैन । जिल्लाका गौर, चन्द्रपुर, मौलापुर, कटहरिया, वृन्दावन लगाएतका नगरपालिकाले आफ्नो भाडा रकम बचाएका छन । गौर र चन्द्रपुर नगरपालिकाको आफनै भवन छ भने अन्य स्थानीय तहले वडा कार्यालय र सभाहलबाट कार्यसम्पादन गरिरहेका छन । गत वर्षसम्म मौलापुर नगरपालिका पनि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो तर, अहिले नगरपालिकाका लागि निर्माण भएको भवनबाट प्रशासनिक काम सञ्चालन गरिएको मौलापुर नगरपालिकाले जनाएको छ । जिल्लाका अधिकांश स्थानीय तहको आफ्नो प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको स्थानीय तहका प्रमुखले बताउँदै आएका छन्। जिल्लाका कतिपय स्थानीय तह साविकका गाविस रहेको भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने कतिले घर भाडामा लिएर कार्यसम्पादन गर्दै आएका छन्। स्थानीय तहको आफ्नै भवन नबन्दा भाडाका साँघुरा घरबाट सेवा प्रवाह गर्नुपर्ने वाध्यता यहाँका स्थानीय तहले जनाएको छ । भाडामा लिएका घरमा निर्वाचित जनप्रतिनिधि नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्नुपर्दा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले विभिन्न समस्या झेल्दै आएका छन् ।
विकास निर्माण लगाएत कार्यमा वार्षिक करोडौ बजेट सिध्याउने जनप्रतिनिधिहरु नगरपालिकाको भवन निर्माण गर्न चासो नलिएको स्थानीयहरुको गुनासो छ । विकास बजेट चलाउने तिर मात्र जनप्रतिनिधिहरुको ध्यान रहेकोले नगरपालिकाको भवन बन्न नसकेको स्थानीयहरुको भनाई छ । नगरपालिकाको आफनै प्रशासनीक भवन नहुँदा भाडामै वार्षिक लाखौ रकम खर्च हुने गरेकोले आफनै भवन बनाउने तिर ध्यान दिन स्थानीयहरुले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन ।


